खेल

करातेमा अनिशालाई स्वर्ण

अनिशा तामाङले १८औं राष्ट्रिय पुरुष तौलसमूह तथा १७औं राष्ट्रिय महिला खुला फुल कन्ट्याक्ट कराते प्रतियोगितामा स्वर्ण जितेकी छन्।

अनिशाले महिला खुला तौलसमूहमा मंगलबार स्वर्ण जितेकी हुन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न फाइनलमा अनिशाले आफ्नै विभागकी सुमित्रा नगरकोटीलाई हराइन्। नेपाल क्योकुसिन कराते डो संघ वज्रको आयोजनामा भएको प्रतियोगिताको पुरुष ५० केजी तौलसमूहमा आयोजक वज्रका विज्ञान तोलाङ्गे पहिलो भए। उनले फाइनलमा वज्रकै हेमन बस्नेतलाई हराए। पुरुष ६० केजीमुनि फाइनलमा त्रिभुवन आर्मीका प्रवीण माझीले आर्मीकै केशरबहादुर नेपालीलाई हराउँदै स्वर्ण जिते।

पुरुष ७० केजीमुनिमा आर्मीका सनिसिंह सुनारले स्वर्ण जिते। उनले फाइनलमा आयोजक वज्रका विकास शाहीलाई पन्छाए। पुरुष ७० केजीमाथि आइकेओका अमित महर्जनले फाइनलमा एपिएफका पेम्बाछिरि तामाङको चुनौती पन्छाउँदै स्वर्ण जिते। हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः १० हजार, पाँच हजार र दुई हजार पाँच सय नगद पुरस्कार प्राप्त गरे।

विजेतालाई आयोजक वज्रका अध्यक्ष जगतप्रसाद गौचन, वरिष्ठ उपाध्यक्ष पुष्प मानन्धरलगायतले पुरस्कृत गरे।  

प्रकाशित: २६ वैशाख २०८१ ०७:१८ बुधबार

#anisha_tamang #karate #gold_medal