खेल

कुराँस टोली भारततर्फ

काठमाडौं – एसियाली कुराँस महासंघको वार्षिक साधारणसभामा भाग लिन दुई महिनाअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा पुनर्गठित तदर्थ समितिलाई प्रतिनिधित्व गर्दै अध्यक्ष ध्रुवराज न्यौपानेको नेतृत्वमा तीन सदस्यीय टोली बुधबार भारततिर लागेको छ।

भारतको पुनामा शुक्रबार हुने कांग्रेसमा नेपालका तर्फबाट तदर्थ समितिका संयोजक न्यौपानेसहित सदस्य एवं अन्तर्राष्ट्रिय समन्वय संयोजक प्रतीक्षा खरेल र काठमाडौं जिल्ला कुराँस संघका अध्यक्ष जय गुरुङले सहभागिता जनाउने राखेपले जनाएको छ। केही महिनाअघि दक्षिण कोरियामा भएको एक प्रतियोगितामा खेलाडीको नाममा गैह्रखेलाडी तथा उपाध्यक्ष लगेर उतै भगाएको अभियोगमा राखेपले दानबहादुर घिसिङ अध्यक्ष रहेको कुराँस संघ विघटन गर्दै तीन महिनाभित्र निर्वाचन गर्ने म्यान्डेटसहित पुनर्गठन गरेको थियो। 

प्रकाशित: ८ चैत्र २०७४ ०३:४५ बिहीबार