खेल

नेपालद्वारा शृंखलाको सुखद अन्त्य

बलियो टोली वेस्ट इन्डिज ‘ए’ विरुद्ध शनिबारको जितसँगै नेपाल १० वर्षपछि फेरि आइसिसी ट्वान्टी–२० विश्वकपमा होमिँदै छ।

विश्वकपको तयारीकै लागि नेपालले क्यारेबियन टोलीसँग यो शृंखला खेलेको हो। शृंखला नेपालले ३–२ ले गुमाउन पुग्यो। तर, अन्तिम तथा पाँचौं खेलमा वेस्ट इन्डिज ‘ए’ विरुद्ध शनिबार ६ विकेटको जित निकाल्दै नेपालले शृंखलाको सुखद अन्त्य गर्‍यो । यो जितले नेपाललाई आत्मविश्वास प्रदान गर्नेछ। किनकि वेस्ट इन्डिज ‘ए’ भए पनि यो टोली बलियो थियो। यसै शृंखलाबाट तीन खेलाडीले आगामी विश्वकपका लागि वेस्ट इन्डिजको टोलीमा स्थान बनाएका छन्। ‘ए’ टोलीका कप्तान रोस्टन चेजसँगै जोन्सन चाल्र्स र गुडाकेस मोतीले स्थान बनाए।

संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुने विश्वकप आउन २७ दिन मात्र बाँकी छ। यसअगाडि नेपालले टेस्ट राष्ट्र आयरल्यान्ड र वेस्ट इन्डिजको ‘ए’ टोलीसँग खेल्यो। यसबीच नेपालले यसै फरम्याटको एसिसी प्रिमियर लिग पनि खेलेको थियो। यद्यपि, यसमा भने नेपालको प्रदर्शन सुखद रहेन र एसिसी कपका साथै एसिया टिम्स एमर्जिङ कपमा पनि छनोट हुन असफल रह्यो। तर, ट्वान्टी–२० फरम्याटको यो प्रतिस्पर्धाबाट नेपालले राम्रो एक्सपोजर भने पायो। नेपाली राष्ट्रिय टोली शनिबार नै विश्वकपका लागि वेस्ट इन्डिज यात्रा गर्दै छ।

एक टोली शनिबार जाँदा बाँकी आइतबार प्रस्थान गर्दै छन्। नेपाल विश्वकपमा समूह ‘डी’ मा छ। यो समूहमा नेपालसहित दक्षिण अफ्रिका, बंगलादेश, नेदरल्यान्ड्स र श्रीलंका छन्। नेपालले पहिलो दुई खेल अमेरिका र बाँकी दुई खेल वेस्ट इन्डिजमा खेल्दै छ। त्यसैले नेपालले विश्वकपअगाडि वेस्ट इन्डिज र अमेरिकामा तयारी गर्न लागेको हो।

यो समूहमा नेपाल र नेदरल्यान्ड्स मात्र एसोसिएट राष्ट्र हुन्। नेपालले दोस्रो पटक यो फरम्याटको विश्वकप खेल्न लागे पनि डच टोलीको भने छैटौं सहभागिता हो।

यस समूहमा सन् २०१४ को विश्वच्याम्पियन श्रीलंकासहित बलिया दक्षिण अफ्रिका र बंगलादेश छन्। विश्वस्तरीय प्रतिस्पर्धाका यी अनुभवी टोलीविरुद्ध जित निकाल्न नेपालका लागि सहज हुने छैन। राम्रो तयारीसँगै विश्वकप हुने स्थलको मौसमसँग पनि अभ्यस्त हुन आवश्यक छ। त्यसैले पनि नेपाली टोली करिब महिना दिन बाँकी छँदा त्यसतर्पm प्रस्थान गर्न लागेको हो। साथै लगातार यसै फरम्याटको प्रतियोगिता र घरेलु मैदानमा बलियो टोलीविरुद्ध प्राप्त जितले पनि नेपाली युवा टोलीमा आत्मविश्वास भर्नेछ।

नेपालबाट दोस्रो पटक विश्वकप खेल्न लागेका सोमपाल कामीले पनि पछिल्लो समयको तयारीले टोलीमा आत्मविश्वास आउने विश्वास व्यक्त गरेका छन्। साथै कप्तान रोहितकुमार पौडेलको ब्याटिङमा लय र स्पिनर सागर ढकाल लयमा फर्किनुले पनि सुखद सन्देश दिएको सोमपालको बुझाइ छ। उनले समग्र टोली नै राम्रो आकारमा रहेको उल्लेख गरे।

सुधारिएको प्रदर्शन

बलिङसँगै ब्याटिङ पनि चलेपछि नेपालले क्यारेबियन टोलीविरुद्ध शनिबार जित निकाल्दै पाँच खेलको शृंखलामा सुखद अन्त्य गर्‍यो।

पहिलो खेल आफ्नो पक्षमा पार्दै नेपालले राम्रो संकेत गरेको थियो। किनकि यो खेलमा नेपालले २०५ रनको लक्ष्य भेटाउँदै आत्मविश्वासले भरिएको टोली रहेको सन्देश दिएको थियो। तर, त्यसपछिका तीन खेल भने सुखद रहेनन्। नेपालले लगातार तीन खेल गुमाउँदै एक खेलअगावै शृंखला सुम्पियो।

त्रिवि क्रिकेट मैदानमा शनिबार नेपाल अन्तिम खेल जित्दै शृंखलामा सुखद अन्त्य गर्न सफल भयो। वेस्ट इन्डिज ‘ए’ ले दिएको १७३ रनको लक्ष्य नेपालले अन्तिम ओभरअगावै पूरा गर्‍यो। यस क्रममा ओपनर आसिफ सेख र अनिल साहले अर्धशतकीय इनिङ खेले र लयमा फर्किएको सन्देश दिए। आसिफ ५१ रन र अनिल ५८ रनमा आउट भए। मध्यक्रमका ब्याटर कुशल मल्लले ३३ रनको अविजित इनिङ खेल्दै उत्कृष्ट फिनिस गरे। आसिफ र अनिलले दोस्रो विकेटका लागि ९६ रनको साझेदारी गर्दै जितको आधार तय गरे।

पाहुना टोलीका बलर ओबेद म्याककोएले १४औं ओभरमा आसिफलाई आउट गर्दै साझेदारी तोडेका हुन्। आसिफले ३५ बलमा दुई चौका र पाँच छक्का प्रहार गरे। तेस्रो विकेटका लागि अनिल र कुशल मल्लबीच २९ रनको साझेदारी भयो। यो पनि म्याककोएले नै तोडे। उनले १७औं ओभरमा अनिललाई मार्क दियालद्वारा क्याच गराए। अनिलले ४५ बलमा समान चार चौका र छक्का हिर्काए। यसै ओभरमा म्याककोएले कसिलो बलिङ गर्दै दबाब बनाउने प्रयास गरे। लगत्तै अर्को ओभरमा दीपेन्द्रसिंह ऐरी ५ रनमै आउट भए। तर, यो ओभरमा नेपालले ९ रन जोड्यो।

यससँगै नेपाललाई जितका लागि अन्तिम दुई ओभरमा २२ रन आवश्यक थियो। कुशलले १९औं ओभरमा नै म्याककोएको बलिङमा लगातार बाउन्ड्री प्रहार गरे र एक ओभरअगावै जित दिलाए। कुशलले १८ बलमा समान तीन चौका र छक्का हिर्काए। नेपालको सुरुआत राम्रो हुन सकेन र दोस्रो ओभरमै ओपनर कुशल भुर्तेललाई १३ रनमै गुमाउन पुग्यो। म्याककोएले नै ब्रेक थ्रु दिलाएका हुन्। म्याककोएले ३.६ ओभरमा तीन विकेट लिँदा म्याथ्यु फोर्डेको नाममा एक विकेट रह्यो। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित ओभरमा सात विकेट गुमाउँदै १७२ रन जोड्यो। पाहुना टोलीले सुरु देखि आक्रामक सुरुआत गर्‍यो।

तर, स्पिनर सागर ढकालले पहिलो तीन विकेट लिँदै दबाब बनाए। उनी प्लेअर अफ दी म्याच पनि भए। वेस्ट इन्डिज ‘ए’ का मध्यक्रमका ब्याटर एलिक अथानजे ४२ रनमा नटआउट रहे। कप्तान चेजले ३३ रन, ओपनर चाल्र्सले २४ रन र फोर्डले २३ रन जोड्दा पाहुना टोलीले राम्रो योगफल तयार बनायो। नेपालको बलिङमा सोमपालले चार ओभरमा तीन विकेट लिँदै १६ रन मात्र दिए। अविनाश बोहराको नाममा एक विकेट रह्यो। तर, उनले चार ओभरमा ४९ रन खर्चिए। शृंखलामा चाल्र्स उत्कृष्ट ब्याटर र म्याककोए उत्कृष्ट बलर घोषित भए। नेपालका कप्तान रोहितकुमार प्लेयर अफ दी सिरिज भए। उनले प्रतियोगितामा २६५ रन पनि जोडे।

प्रकाशित: २३ वैशाख २०८१ ०७:३२ आइतबार

वेस्ट इन्डिज ‘ए’ नेपाल आइसिसी ट्वान्टी–२० विश्वकप विश्वकप अमेरिका