खेल

वेस्ट इन्डिज ‘ए’ सँग जित्न नेपाललाई २०५ रनको लक्ष्य

वेस्ट इन्डिज ‘ए’ ले मैत्रीपूर्ण टि–२० सिरिजको पहिलो खेलमा नेपाललाई २०५ रनको विशाल लक्ष्य दिएको छ।

कप्तान रोस्टन चेसको अर्धशतकका मद्दतले क्यारेबियन टोलीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै २०४ रन जोडेको हो।

टस जितेर नेपाली कप्तान रोहित पौडेलले पहिले फिल्डिङ गर्ने निर्णय गरेका थिए। कमलसिंह ऐरीले पहिलो ओभरमा आक्रामक ओपनर जोनसन चाल्र्सलाई शून्य रनमै आउट गरेपनि त्यसपछि क्यारिबियन ब्याटरले निकै आक्रामक खेल प्रस्तुत गरे।

जसमा अर्का ओपनर एलिक अथानाजले रोहित पौडेलको बलमा आउट हुनुपूर्व २५ रनमा ४७ रनको योगदान दिए। उनीबाहेक कप्तान चेसले ४६ बलमा ७४ रन जोडे। उनलाई दीपेन्द्रसिंह ऐरीले अन्तिम ओभरमा आउट गरे। उनीबाहेक केसी कार्टीले २० बलमा ३८ रनको योगदान दिए।

नेपालका तर्फबाट कमलसिंह ऐरी, दीपेन्द्रसिंह ऐरी, अविनाश बोहरा र कप्तान पौडेलले एक/एक विकेट लिए। 

प्रकाशित: १५ वैशाख २०८१ १४:०६ शनिबार