खेल

मिल्स गोल्डकप: उपाधिका लागि पेमा र सशस्त्र प्रहरी भिड्दै

विराटनगरमा जारी मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि विराटनगरको पेमा युवा क्लब र सुनसरी पकलीको सशस्त्र प्रहरी (एपिएफ) भिड्ने भएका छन्।

चौथो संस्करणको गोल्डकप अन्तर्गत बिहीबार भएको खेलमा पेमाले विराटनगरस्थित कोशी प्रदेश प्रहरी कार्यालयलाई ३–१ गोल अन्तरले पराजित गर्दै सशस्त्र प्रहरीसँगको फाइनल भिडन्त पक्का गरेको हो।

पेमाको जितका लागि मिलन राई, समिर राई र कुलदीप कार्कीले गोल गरे। प्रहरीका लागि एक मात्र गोल उज्ज्वल राईले गरे।

२९ औं मिनेटमा प्रहरीका उज्ज्वल राईले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। एक गोलले पछि परेको पेमाले आफ्नो खेललाई सुधार गर्दै ४३ औं मिनेटमा डिबक्सभित्रबाट मिलन राईले हेडमार्फत आकर्षक गोल गर्दै खेल बराबारीमा ल्यायो।

६१ औं मिनेटमा पेमाका समिर राईले गोल गर्दै टोलीको गोल संख्या दोब्बर बनाए। शौरभव लिम्बूको स्थानमा मैदान प्रवेश गरेका समिरले मिलन राईको क्रस पास सदुपयोग गर्दै गोल गरेका थिए।

६५ औं मिनेटमा पेमाका कुलदीप कार्कीले थप एक गोल गर्दै गोल संख्या तेब्बर बनाए। प्लेयर अफ द म्याच बनेका पेमाका मिलन राईले ३ हजार प्राप्त गरे।

उपाधिका लागि पेमा र सशस्त्र प्रहरीबीच शनिबार प्रतिस्पर्धा हुनेछ। गोल्डकप मिल्स गोल्डकप ट्रष्टले आयोजना गरेको हो।

प्रकाशित: १३ वैशाख २०८१ २०:३६ बिहीबार