खेल

न्यु डायमन्ड र एपिएफको विजयी सुरुआत

न्यु डायमन्ड र एपिएफले सातौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेका छन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधबारदेखि सुरु भएको प्रतियोगितामा न्यु डायमन्ड र एपिएफ दुवैले विभागीय प्रतिद्वन्द्वीलाई हराउँदै सुखद सुरुआत गरेका हुन्।

शेरबहादुर स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतियोगितामा चार टोलीले मात्र प्रतिस्पर्धा गरेका छन्। प्रतियोगिता राउन्ड रोबिन लिगका आधारमा हुँदै छ।

पहिलो खेलमा न्यु डायमन्डले त्रिभुवन आर्मी क्लबलाई २५–१२, २५–१५, १७–२५ र २५–२१ को सेटमा हरायो। न्यु डायमन्डकी सुमित्रा रेग्मी प्लेअर अफ दी म्याच घोषित भइन्।  

दोस्रो खेलमा एपिएफले नेपाल पुलिस क्लबलाई २५–२१, २२–२५, २५–१७ र २५–१६ को सेटमा हरायो। एपिएफकी सरस्वती चौधरी प्लेयर अफ दी म्याच बनिन्। विजेता दुवै टोलीले समान तीन अंक पाए। प्रतियोगिताको राखेपका सदस्यसचिव टंकलाल घिसिङले उद्घाटन गरका थिए।

विजेताले चार लाख ९९ हजार र उपविजेताले दुई लाख ५० हजार नगद पुरस्कार जित्नेछन्। तेस्रो हुने टोलीले एक लाख २५ हजार तथा चौथोले ६२ हजार रूपैयाँ नगद पुरस्कार पाउनेछन्।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार, विधागततर्फ उत्कृष्ट हुनेले जनही २५ हजार र प्लेअर अफ द म्याचले १५ हजार रूपैयाँ नगद पुरस्कार पाउनेछन्। उद्घाटनकै अवसरमा पुलिसकी खेलाडी पुनम चन्द नगदसहित सम्मानित भइन्। राखेप सदस्यसचिव घिसिङले पुनमलाई ५० हजार रूपैयाँसहित स्पेसल अवार्डबाट सम्मान गरेका हुन्। 

प्रकाशित: १३ वैशाख २०८१ १०:०३ बिहीबार

न्यु डायमन्ड र एपिएफले सातौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् चार टोलीले मात्र प्रतिस्पर्धा गरेका न्यु डायमन्डले त्रिभुवन आर्मी क्लब नेपाल पुलिस क्लब