खेल

कुशल भुर्तेलकाे तीन खेल, तीन शून्य

ओमानमा जारी एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानका लागि जारी खेलमा हङकङ विरुद्ध नेपालका ओपनर कुशल भुर्तेल शून्यमा आउट भएका छन्।

हङकङका तीव्र गतिका बलर आयुश शुक्लाको बलमा कुशल जिशान अलीबाट क्याच आउट भएका हुन्। कुशल पहिलो सेमिफाइनल खेलमा शुक्रबार युएईसँग पनि शून्यमै आउट भएका थिए।

यसअघि समूह चरणको अन्तिम खेलमा साउदी अरेबियासँग पनि उनी शून्यमै आउट भएका थिए।

हङकङ विरुद्ध नेपाल हाल ८.२ ओभरको खेल चलिरहँदा नेपाल ४ विकेटको क्षतिमा ५३ रन बनाएर खेलिरहेको छ। नेपालले दोस्रो विकेटको रुपमा सोमपाल कामीलाई गुमायाे। उनी आयुष शुक्लाको बलिङमा अदित गोरवाराबाट क्याच आउट भए। सोमपालले २ चौकाको सहयोगमा ७ बलमा १२ रन बनाए।

तेस्रो विकेटको रुपमा नेपालले आसिफ शेखलाई गुमायो। उनी ११ बलमा ५ रन बनाएर आउट भए। यसैगरी कप्तान रोहित पौडेल १९ बलमा २१ रन बनाएर पभेलियन फर्के।

सेमिफाइनलमा युएईसँग पराजित भएसँगै सन् २०२५ मा हुने एसिया कप खेल्नबाट नेपाल वञ्चित भइसकेको छ। इमर्जिङ टिम्स एसिया कप खेल्नका लागि आजको खेल जित्नुपर्ने दबाब नेपालमाथि छ।

प्रकाशित: ८ वैशाख २०८१ १६:५६ शनिबार