खेल

बाग्मतीको दोस्रो जित

बाग्मती प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय पुरुष टी-२० क्रिकेट प्रतियोगितामा शुक्रबार जित हात पारेको छ।

मूलपानी माथिल्लो क्रिकेट मैदानमा बाग्मतीले कोसी प्रदेशलाई ७ रनले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित हात पार्‍यो। कोसीको यो पहिलो खेल हो। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बाग्मतीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३८ रन बनाएको थियो।

बाग्मतीका लागि ईशान पाण्डेले सर्वाधिक ३१ तथा सोनु देवकोटाले ३० रनको योगदान गरे। गौतम केसी र रबिन जोशीले समेत समान १३/१३ रन बनाए। बलिङतर्फ कोसी प्रदेशका सर्वन यादवले ३ विकेट तथा ज्ञानेन्द्र श्रेष्ठले २ विकेट हात पारे।

जबाफमा १३९ रनको विजयलक्ष्य लिएर मैदान उत्रिएको कोसीले सानदार सुरुआत गरेको थियो। कप्तान अंकित सुवेदी र मिनस थापाले पहिलो विकेटका लागि ५३ रनको साझेदारी गर्दै कोसीलाई राम्रो सुरुआत दिलाएका थिए।

३६ रन बनाएका अंकित र ११ रन बनाएका मिनास गरी दुवै ओपनरको विकेटपश्चात् केही समस्यामा आएको कोसी प्रदेशलाई चेजमा कायम राख्न सुजन थपलिया र सोनु अन्सारीले तेस्रो विकेटका लागि २७ रनको साझेदारी गरे।

ईशान पाण्डेले सोनुको विकेट प्रािप्तपश्चात् ब्याटिङ गर्न आएका फिर्दोश अन्सारीले सुजनसंग साझेदारी गर्दै कोसीको इनिङलाई अघि बढाए। १४औं ओभरको अन्तिम दुई बलमा सुबास खत्रीले लगातार २ विकेट लिंँदै बाग्मतीलाई खेलमा फर्काएका थिए।

कोसीलाई जितसम्म पुर्‍याउन सुजन थपलियाले अर्को छेउबाट लगातार प्रयास गरे। यद्यपि १७औं ओभरको तेस्रो बलमा ३२ रन बनाएका सुजनलाई शुभ कंसाकारले पभेलियन फर्काएपश्चात् बाग्मती खेलमा हाबी बन्यो।

४ विकेट बाँकी रहँदा २० रन आवश्यक रहेको अवस्थामा बाग्मतीका रिजन ढकालले १८औं ओभरमा २ विकेट तथा रामनरेश गिरिले १९औं ओभरमा १ विकेट लिएपछि कोसी समस्यामा आएको थियो।

अन्तिम ओभरमा रिजनले शर्वन किस्कुको विकेट लिंदै बाग्मतीलाई रोमाञ्चक खेलमा जित दिलाए। खेलको प्लेयर अफ दी म्याच बाग्मतीका ईशान पाण्डे चुनिए। अर्को खेलमा कर्णाली प्रदेशले सुदूरपश्चिमलाई ४ विकेटको अन्तरले पराजित गर्‍यो।

टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १४३ रन बनाएको थियो। सुदूरपश्चिमका लागि अभिषेक पालले सर्वाधिक ५१ रनको योगदान गरे।

नरेन भट्टले ४७ तथा किरण ठगुन्नाले २२ रन बनाए। कर्णाली प्रदेशको बलिङतर्फ दिनेश अधिकारीले सर्वाधिक दुई विकेट लिए। उनिश ठकुरी, दीपेन्द्र रावत र प्रकाश जैसीले समान १/१ विकेट हात पारे।

जबाफमा १४४ रनको लक्ष्य कर्णाली प्रदेशले खेल सकिन ८ बल बाँकी रहँदा ६ विकेट गुमाएर पूरा गर्‍यो। कर्णालीलाई जित दिलाउने क्रममा अर्जुन घर्तीले सर्वाधिक ३७ रन बनाए।

तल्लो क्रममा ब्याटिङ गर्दै दिनेश अधिकारीले १९ बलमा अविजित ३१ रन प्रहार गरे। प्लेअर अफ दी म्याच कर्णाली प्रदेशका दिनेश अधिकारी चुनिए।

प्रकाशित: ८ वैशाख २०८१ ०६:४९ शनिबार

वीर गणेशमान सिंह राष्ट्रिय पुरुष टी– २० क्रिकेट प्रतियोगिता बाग्मती प्रदेश मूलपानी माथिल्लो क्रिकेट मैदा