खेल

राष्ट्रपति रनिङ सिल्ड : भलिबलमा सेमिफाइनल समीकरण पूरा

१४औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत भलिबलमा महिला र पुरुष दुवैतर्फ बुधबार सेमिफाइनल समीकरण पूरा भएको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा बुधबार पुरुष र महिला भलिबल दुवै सेमिफाइनल समीकरण पूरा भएको हो। पुरुषमा कर्णाली, लुम्बिनी, गण्डकी र मधेस प्रदेश सेमिफाइनलमा पुगेका छन्।

बुधबार सेमिफाइनलमा पुग्न जित्नैपर्ने खेलमा मधेसले बागमती प्रदेशमाथि २५-११ र २७-२५ ले हरायो। महिलामा बागमती, गण्डकी, लुम्बिनी र कोशी प्रदेशले सेमिफाइनलमा स्थान बनाए।

अब बिहीबार हुने सेमिफाइनलमा बागमती र कोशी तथा लुम्बिनी र गण्डकीबीच प्रतिस्पर्धा हुनेछन्। ‘बेस्ट अफ थ्री’ मा भएको महिलातर्फ प्रतिस्पर्धामा समूह ‘ए’ मा चार र समूह ‘बी’ मा तीन प्रदेशले प्रतिस्पर्धा गरेका थिए।

बागमतीले समूहको तीनै खेल जित्यो। बागमतीले पहिलो खेलमा गण्डकीलाई २५-१३ र २६-२४, दोस्रो खेलमा कर्णालीलाई २७-२५ र २५-१२ तथा तेस्रो खेलमा सुदूरपश्चिम प्रदेशलाई २५-१० र २५-८ ले हरायो।

गण्डकीले भने पहिलो खेलमा कर्णालीलाई २५-२०, २५-२७ र १५-८ ले हराउँदा सुदूरपश्चिममाथि २५-२० र २५-२२ को जित निकाल्यो। समूहमा एक मात्र हार बेहोरेको गण्डकी समूह उपविजेता बन्यो। समूह ‘बी’ विजेता लुम्बिनीले कोशीलाई २५-२३ र २५-१७ तथा मधेश प्रदेशलाई २५-१४ र २५-२१ ले हरायो।

यस समूहको उपविजेता कोशीले एक मात्र जित मधेस प्रदेशमाथि २५-१८ र २५-१८ ले निकाल्यो। पुरुष भलिबलमा कर्णालीले पहिलो खेलमा सुदूरपश्चिमलाई २५-२०, १९-२५ र १५-८ तथा दोस्रो खेलमा कोशीलाई २५-२२ र २५-१९ ले हरायो।

लुम्बिनीले भने यो समूहमा दुई जित निकाल्यो। लुम्बिनीले पहिलो खेलमा कोशीलाई २५-२० र २५-१९ तथा दोस्रो खेलमा सुदूरपश्चिमलाई २५-२२ र २५-१५ ले हरायो।  

८०० मिटरमा बादल र सरिता सफल  

बादल कार्की र कर्णाली प्रदेशकी सरिता खड्काले १४ औं केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्डअन्तर्गत एथलेटिक्सको आठ सय मिटर दौडमा बुधबार स्वर्ण जितेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको ट्य्राकमा बुधबार सम्पन्न प्रतिस्पर्धामा बादल छात्र तथा सरिता छात्रातर्फ पहिलो भएका हुन्।

दुवैको यो व्यक्तिगत दोस्रो स्वर्ण हो। पहिलो दिन मंगलबार दुवैले चार सय मिटर दौडमा पनि स्वर्ण जितेका थिए। सरिताले दुई मिनेट २८.५ सेकेन्ड समय खर्चिइन्। कर्णालीकै भावना कर्साल दुई मिनेट २९.२ सेकेन्डका साथ रजत पदकमा सीमित भइन्। लुम्बिनी प्रदेशकी अनिसा थारुले कांस्य पदक जितिन्। उनले दुई मिनेट २९.५ सेकेन्ड समय खर्चिन्।  

यसै विधाको पुरुषमा बादलले दुई मिनेट ०५.५५ सेकेन्डमा निर्धारित दूरी पूरा गरे। सुदूरपश्चिमका विक्रम विष्ट र कर्णालीका प्रकाश बुढा क्रमशः दोस्रो र तेस्रो भए। विक्रमले दुई मिनेट ०६.४ सेकेन्ड र प्रकाशले २ मिनेट ०६.७ सेकेन्ड समयमा निर्धारित दूरी पूरा गरे।

ज्याभलिन थ्रो छात्रमा सुदूरपश्चिमका सुकवीर पोखरेल, लुम्बिनीका राहुल थारु र लुम्बिनीकै रवि चौधरी शीर्ष तीनमा रहे। सुकवीरले ५२.१७ मिटर, राहुलले ५१.२५ मिटर र रविले ५०.६१ मिटर पर ‘थ्रो’ गरे। यसै विधाको छात्रामा कर्णालीकी सरिता विकले ३१.५४ मिटर पर फ्याक्दै स्वर्ण जितिन्।

सुदूरपश्चिमकी पूजा साउदले रजत र लुम्बिनीकी दिव्याकला थारुले कांस्य पदक जिते। पूजाले २९.३१ मिटर र दिव्याकलाले २८.४९ मिटर पर फ्याँकिन्। लङजम्पमा पुरुषतर्फ लुम्बिनीका रमेश थारु र महिलामा बागमतीकी प्रनिशा महतोले स्वर्ण जिते। रमेश ६.६४ मिटर र प्रनिशा ४.९५ मिटर जम्प गरे।

पुरुषमा सुदूरपश्चिमका सन्नी चौधरी र आशिष महर क्रमशः दोस्रो र तेस्रो भए। सन्नी ६.५७ मिटर र आशिष ६.५५ मिटर जम्प गरे। महिलामा गण्डकीकी निशा घर्ती र सुदूरपश्चिमकी रेनुका ऐरले क्रमशः रजत र कांस्य पदक जिते।

प्रकाशित: ६ वैशाख २०८१ ०७:१५ बिहीबार

१४औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता भलिबल सेमिफाइनल समीकरण महिला पुरुष राष्ट्रिय खेलकुद परिषद्