खेल

वैशाख १२ देखि शेरबहादुर स्मृति भलिबल

सातौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय भलिबल प्रतियोगिता यही वैशाख १२ देखि १५ गतेसम्म आयोजना हुने भएको छ।

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा हुने प्रतियोगितामा साबिक विजेता न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब, नेपाल पुलिस, एपिएफ, त्रिभुवन आर्मी र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको सहभागिता रहने प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले जानकारी दिए।

उनले प्रतियोगितामा सहभागिताका लागि तीन विभागीय, विभिन्न प्रदेश तथा क्लबलाई आमन्त्रण गरे पनि अहिलेसम्म ६ टोलीको मात्रै टुंगो लागेको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।

२०७० सालदेखि हरेक वर्ष आयोजना हुँदै आएको प्रतियोगिता नेपाल भलिबल संघको प्राविधिक सहयोगमा सञ्चालन हुनेछ। प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउटका आधारमा खेल सञ्चालन गरिने अध्यक्ष खड्काले जानकारी दिए। 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन हुने प्रतियोगिताको विजेताले चार लाख ९९ हजार रूपैयाँ नगद पुरस्कार पाउनेछ। यस्तै उपविजेताले दुई लाख ५० हजार र तेस्रो हुने टोलीले एक लाख २५ हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार, विधागततर्फ उत्कृष्ट हुनेलाई जनही २५ हजार र हरेक खेलको प्लेयर अफ दी म्याचलाई १५ हजार रूपैयाँ नगद पुरस्कार प्रदान गरिने अध्यक्ष खड्काले जानकारी दिए। यसअघिको विजेतालाई तीन लाख, उपविजेतालाई एक लाख ५० हजार र तेस्रो हुने टोलीलाई ७५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो। सातौं संस्करणको उद्घाटनका अवसरमा एक जना राष्ट्रिय खेलाडीलाई नगद ५० हजार रूपैयाँसहित स्पेसल अवार्डबाट सम्मान गरिने भएको छ।

बहुराष्ट्रिय पेन्ट कम्पनी केएनपी नेरोलेकको मुख्य प्रायोजनमा सञ्चालन हुने यस प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद परिषद्, बाग्मती प्रदेश, विभिन्न नगरपालिका र कर्पोरेट हाउसहरूले सहयोग गरेको अध्यक्ष खड्काले जानकारी दिए।

प्रकाशित: ५ वैशाख २०८१ ०८:३६ बुधबार

शेरबहादुर खड्का शेरबहादुर खड्का स्मृति राष्ट्रिय भलिबल प्रतियोगिता एपिएफ त्रिभुवन आर्मी जावलाखेल भलिबल प्रशिक्षण केन्द्र