खेल

पाँचौं राष्ट्रिय खुला सुगठन भदौमा

पाँचौं राष्ट्रिय खुला मिस्टर काठमाडौं शारीरिक सुगठन, महिला एथलेटिक फिजिक्स, जुनियर मिस्टर काठमाडौं प्रतियोगिता तथा पुरुष स्पोर्ट्स फिजिक्स हुने भएको छ।

नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघको तत्त्वावधानमा काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको आयोजनामा आगामी भदौ २८ र २९ गते उक्त प्रतियोगिता हुन लागेको हो।

मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगितामा कुल ६ वटा तौल समूहमा प्रतिस्पर्धा हुनेछ। तीमध्ये ५५, ६०, ६५, ७०, ७५ र ७५ केजीभन्दा माथि तौलसमूह हो। महिला प्रतिस्पर्धाअन्तर्गत महिला एथलेटिक्स फिजिक्स खुला उचाइ समूहअन्तर्गत प्रतिस्पर्धा गराइनेछ। जुनियर मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगितामा गत २०८० चैत मसान्तसम्म २१ वर्ष ननाघेका खेलाडीले प्रतिस्पर्धा गर्न पाउनेछन्।

पुरुष स्पोटर्स फिजिक्सअन्तर्गत अन्तर्राष्ट्रिय मापदण्डअनुसार वजन र उचाइ समूह गरी दुई समूहमा प्रतियोगिता सञ्चालन हुनेछ। १७० सेमीभन्दा मुनि र १७० सेमीभन्दा माथिको दुईवटा विधा रहनेछ। प्रत्येक क्लब, संघसंस्थाबाट एउटा वजन समूहमा बढीमा दुई खेलाडी गरी जम्मा २० खेलाडी र एक जना टिम म्यानेजरले प्रतियोगितामा भाग लिन तथा टिमको प्रतिनिधित्व गर्न पाउनेछन्।

१० विधामध्ये तीनमा मिस्टर काठमाडौं जुनियर तथा दुवै पुरुष स्पोर्ट्स फिजिक्सका फाइनल प्रतियोगिता आयोजना हुनेछन्। महिला एथलेटिक्स फिजिक्सको प्रिजजिङ राउन्ड हुनेछ। दोस्रो दिन मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताका प्रिजजिङ तथा फाइनल खेल र महिला एथलेटिक्स फिजिक्सको फाइनल खेल आयोजना हुनेछ।

फाइनल खेलको प्रतिस्पर्धाबाट प्रत्येक वजन समूहका खेलाडीमा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई क्रमश स्वर्ण, रजत तथा कांस्य पदक एवं प्रमाणपत्रले सम्मानित गरिनेछ। चौथो र पाँचौ हुने खेलाडीले ट्रफी तथा प्रमाणपत्र हासिल गर्नेछन्।

प्रत्येक वजन समूहमा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरूलाई क्रमशः १५ हजार, दश हजार र पाँच हजार नगदले पुरस्कृत गरिनेछ। मिस्टर काठमाडौंको फाइनल प्रतियोगितामा प्रत्येक समूहको समूहगत विजेता खेलाडीहरूबीच प्रतिस्पर्धा गराई ओभरअलमा प्रथम हुने खेलाडीलाई काठमाडाैंको उपाधि साथै नगद एक लाख ५० हजार रूपैयाँ पुरस्कार, ट्रफी तथा ब्यानटले सुसज्जित गरिनेछ।

ओभरअल प्रथम हुने खेलाडीले नगद १ लाख ६५ हजार प्राप्त गर्नेछ। महिला प्रतिस्पर्धाअन्तर्गत फाइनल राउन्डमा छनोट भएका पाँच जना महिला खेलाडीहरूबाट प्रतिस्पर्धा गराई ओभरअलमा प्रथम हुने खेलाडीले महिला एथलेटिक्स फिजिक्सको उपाधिका साथै नगद ३० हजार रूपैयाँ ट्रफी तथा ब्यानटले सुसज्जित गरिनुका साथै द्वितीय र तृतीय हुने खेलाडीलाई क्रमशः नगद १५ तथा ५ हजारका साथै ट्रफीले सम्मान गरिनेछ। चौथो तथा पाँचौं हुने महिला खेलाडीले ट्रफी गर्नेछन्।

यस्तै जुनियर मिस्टर काठमाडौँ शारीरिक सुगठन प्रतियोगिता तथा पुरुष स्पोर्ट्स फिजिक्स अन्तर्गत १७० सेमीसम्म र १७० सेमीभन्दा माथिको उचाइ समूह गरी दुई उचाइसमूह अन्तर्गत प्रथम हुने खेलाडीले उपाधिका साथै नगद ३० हजार ट्रफी तथा ब्यानेट प्राप्त गर्नेछन्।

द्वितीय र तृतीय हुने खेलाडीलाई क्रमश नगद १५ तथा ५ हजारका साथै ट्रफी तथा प्रमाणपत्रले सम्मानित गरिनेछ। चौथो र पाँचौं हुने खेलाडीले ट्रफी तथा प्रमाणपत्र हासिल गर्नेछन्। आयोजकका अनुसार प्रतियोगिताको अनुमानित बजेट करिब रु २२ लाख ५० हजार रहेको छ। प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने सचिव विजयतमरत्न वज्राचार्यले जानकारी गराए।

प्रकाशित: २ वैशाख २०८१ ०८:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App