खेल

राष्ट्रपति रनिङ शिल्डमा ६ सय ८६ खेलाडीको चुनौती

लामो इतिहास बोकेको राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता वैशाख ४ देखि ६ गतेसम्म हुने भएको छ।

विद्यालय स्तरबाटै खेलकुदको विकास गर्ने उद्देश्यले यो प्रतिस्पर्धा २०३० सालदेखि वीरेन्द्र रनिङ शिल्डका रूपमा सुरु भएको हो। गणतन्त्र स्थापनापछि यो प्रतियोगिता राष्ट्रपति रनिङ शिल्डको नामबाट हुँदै आएको छ । यस १४औं संस्करण दशरथ रंगशालामा हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने प्रतियोगिताको यस संस्करणमा सात प्रदेशबाट कुल ६ सय ८६ खेलाडीले चुनौती प्रस्तुत गर्दैछन्। ती खेलाडी १८ वर्षमुनिका हुनेछन्। यद्यपि, जिल्ला छनोट हुँदै आएका खेलाडी १८ वर्षभन्दा केही महिना कटेमा खेल्न पाउने राखेपले जनाएको छ।

सात सय ७३ वटै स्थानीय तहबाट खेलाडी छनोट गर्दै केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुँदै छ। राखेपले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै यस संस्करणबारे जानकारी दिएको हो। विभिन्न ६ खेलमा कुल ६६ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा छात्रा र छात्रले एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु खेलको प्रतिस्पर्धा गर्नेछन्। एथ्लेटिक्समा छात्रा र छात्रमा गरी समान १३ स्वर्ण, कराते, तेक्वान्दो र उसुमा समान ६÷६ स्वर्ण गरी ३६ स्वर्ण, कबड्डी र भलिबलमा समान एक स्वर्ण गरी चार स्वर्णमा प्रतिस्पर्धा हुनेछन्।

प्रतियोगितामा सहभागी खेलाडीले यातायात खर्चका साथै दैनिक १३ सयका दरले भत्ता पनि पाउने राखेपका प्रतियोगिता संयोजक मीन शर्माले जानकारी दिए। हरेक विधामा शीर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीले नगद पुरस्कार पाउनेछन्। यद्यपि, उनीहरूले पाउने पुरस्कारबारे भने तय नभएको शर्माले जानकारी दिए। तर, तीन पटक च्याम्पियन टोलीले रनिङ शिल्ड पाउनेछन्। यसअघि लुम्बिनी प्रदेशले तीन पटक च्याम्पियन भएपछि रनिङ शिल्ड आफ्नो बनाएसँगै नयाँ रनिङ शिल्ड बनाइएको छ। नयाँ रनिङ शिल्डको राखेपका सदस्य–सचिव टंकलाल घिसिङले पत्रकार सम्मेलनमा सार्वजनिक गरे।

कीर्तिमान बनाउने खेलाडीले १५ हजार रूप्रयाँ नगद पुरस्कार पाउने भएका छन्। प्रतियोगिताका लागि करिब एक करोड ५० लाख खर्च हुने राखेपले जनाएको छ। राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्माले गत वर्षको भन्दा बजेट ३५ लाख रूपैयाँ बढी हो। राखेपका सदस्यसचिव टंकलाल घिसिङले राष्ट्रपति रनिङ शिल्डको महŒव र स्थान धेरै उचो रहेको उल्लेख गर्दै यहाँबाट राष्ट्रिय टोली छनोटको माध्यमसमेत रहेको धारणा राखे।

घिसिङले सबै पक्षबाट यो प्रतियोगिताको सफल आयोजनामा सहयोग हुनुपर्ने र राखेपले पनि यो आयोजनापछि खेलाडीको गन्तव्य कहाँ हुने भन्ने रोड म्याप तयार पार्ने विश्वास व्यक्त गरे। उनले यो प्रतियोगिताबाट निस्किएका प्रतिभाशाली खेलाडीको संरक्षणका लागि खेल संघहरू पनि जिम्मेवार भएर काम गर्नुपर्ने आवश्यकता औंल्याए। प्रतियोगिताको राष्ट्रपति रामचन्द्र पौडेलले दशरथ रंगशालामा वैशाख ४ गते उद्घाटन गर्ने कार्यक्रम रहेको छ। समग्रमा उपविजेता र तेस्रो हुने टिमलाई पनि नगद पुरस्कारसहित ट्रफी प्रदान गरिनेछ।

प्रकाशित: ३० चैत्र २०८० ०७:४४ शुक्रबार

राष्ट्रपति रनिङ शिल्ड खेलकुद विद्यालय स्तर खेलकुदको विकास वीरेन्द्र रनिङ शिल्ड दशरथ रंगशाला