खेल

पेरिस पाराओलम्पिककाे तयारीमा सहयाेग

नेसनल पारालिम्पिक कमिटी (एनपिसी) नेपालले पारा तेक्वान्दोकी पलेशा गोवर्धनको प्रशिक्षण तयारीका लागि सहयोग गरेको छ।

एनपिसी नेपालले यसै महिना पेरिस २०२४ पाराओलम्पिकमा छनोट भएकी पलेशाको प्रशिक्षण तयारीका लागि सहयोग गरेको हो। नेसनल पारालिम्पिक कमिटी (एनपिसी) नेपालकी अध्यक्ष राधा घलेले प्रशिक्षण तयारीका लागि नेपाल संघका उपाध्यक्ष भानबहादुर चन्दलाई दुई लाख  १५ हजार बराबरको चेक हस्तान्तरण गरेकी हुन्।

पलेशाले चीनको तायानमा गत चैत ४ गतेसम्म सम्पन्न एसियाली ओलम्पिक तथा पाराओलम्पिक छनोटमा स्वर्ण पदक जितेकी थिइन्।

त्यससँगै उनी पेरिस २०२४ पाराओलम्पिकका लागि छनोट भएकी हुन्। पलेशा नेपाली खेलकुद इतिहासमा ओलम्पिकका लागि छनोट हुने तेस्रो खेलाडी पनि बनिन्। नेपाली पारा खेलकुद इतिहासमा भने छनोट भएर ओलम्पिक खेल्ने उनी पहिलो खेलाडी हुन्। पलेशा टोकियो २०२० पाराओलम्पिक गेम्समा पनि पदकनजिक पुगेकी थिइन्। अमेरिका र सर्बियाका खेलाडीलाई हराउँदै उनी कांस्य भिडन्तसम्म पुगे पनि पदक जित्न भने असफल भइन्।

प्रकाशित: २९ चैत्र २०८० ०९:३८ बिहीबार

पेरिस पाराओलम्पिकको तयारीमा सहयोग