खेल

आर्मी र जावलाखेल च्याम्पियन

जावलाखेल ह्विलचेयर स्पोटर्स र त्रिभुवन आर्मी क्लबले दोस्रो ह्विलचेयर बास्केटबल प्रतियोगितामा च्याम्पियन भएका छन्।

नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइएसए)को आयोजनामा बुधबार सम्पन्न प्रतियोगितामा आर्मी पुरुषमा र जावलाखेल महिलामा च्याम्पियन भएका हुन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्(राखेप) को कभर्डहलमा भएको फाइनलमा आर्मीले सशस्त्र प्रहरी बलको एपिएफलाई र महिलामा जावलाखेलले स्पाइनल कर्ड इन्जरी नेट्वर्क नेपाल (एससिआइएनएन) लाई हराए। रोमाञ्चकपूर्ण खेलमा आर्मीले एपिएफलाई २१–१७ ले हराएको हो। आर्मी र एपिएफ एउटै समूह ‘ए’ मा थिए।

यो समूहबाट आर्मी विजेता र एपिएफ उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका हुन्। समूहचरणमा पनि आर्मीले एपिएफलाई २६–२१ स्कोरले हराएको थियो। सेमिफाइनलमा भने आर्मीले बिआइएमाथि ३६–१७ स्कोरको फराकिलो जित हासिल गर्‍यो।

एपिएफ भने प्रतिस्पर्धात्मक खेलमा एससिआइएनएनलाई २०–१९ ले हराउँदै फाइनलमा पुगेको हो। प्रतियोगितामा एससिआइएनएन तेस्रो भयो। तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा एससिआइएनएनले बिआइएलाई १७–१६ ले हरायो।

महिलाको फाइनलमा जावलाखेलले एससिआइएनएनमाथि १८–७ को सहज जित दर्ता गर्‍यो। त्यसअघि सेमिफाइनलमा जावलाखेलले बिआइएलाई १४–० स्कोरले पराजित गर्दै फाइनल पुगेको थियो।

एससिआइएनएन भने सेमिफाइनलमा विइनमाथि १४–४ को जितसहित फाइनलमा पुगेको हो। बिआइए भने तेस्रो बन्यो। तेस्रो स्थानका लागि भएको खेलमा बिआइएले विइनलाई ६–० स्कोरमा सहजै पराजित गर्‍यो। विजेता जावलाखेल र आर्मीले समान ५० हजार रूपैयाँ तथा उपविजेता एपिएफ र एससिआइएनएनले समान ४० हजार रूपैयाँ प्राप्त गरे।

तेस्रो हुने एससिआइएनएन र बिआइले ३०÷३० हजार रूपैयाँ पाए। मोस्ट भ्यालुएबल प्लेअर पुरुषमा आर्मीका रामबहादुर तामाङ र महिलामा जावलाखेलकी राजनी राई घोषित भए। पुरुषमा आर्मीका रमेश खत्री र महिलामा जावलाखेलकी तुलसा मगर हाई स्कोरर रहे। खत्रीले फाइनलमा आठ र मगरले ६ स्कोर गरेका थिए। चारै जनाले समान २५ सय रूपैयाँ प्राप्त गरे। 

प्रकाशित: २९ चैत्र २०८० ०७:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App