खेल

गुलशन ‘म्यान अफ दि टुर्नामेन्ट, दिपेन्द्रसिंह ‘गेम चेन्जर’

तस्बिर सौजन्य: क्यान।

राष्ट्रिय क्रिकेट टोलीका खेलाडी गुलशन झा एसएमएस फ्रेन्डसिप कप टी–२० सिरिजको ‘म्यान अफ दी टुर्नामेन्ट’ भएका छन्। यसैगरी कप्तान रोहितकुमार पौडेल यो सिरिजमा सर्वाधिक ३ वटा पुरस्कार जित्न सफल भए।

आइतबार भारत गुजरातस्थित वापी क्रिकेट मैदानमा भएको फाइनल खेल जितेर उपाधि चुम्न सफल नेपाली टोलीका कप्तान रोहितले ‘म्यान अफ दि फाइनल’ भए। साथै उनी यो सिरिजमा सर्वाधिक चौका र छक्का हान्ने खेलाडीका रूपमा पनि पुरस्कृत भए।

गुलशन झा म्यान अफ दि टुर्नामेन्ट भए। यो सिरिजमा उनको ब्याटिङ, बलिङ र फिल्डिङ उत्कृष्ट रहेको भन्दै उनलाई यो पुरस्कार दिइएको हो।

यसैगरी अर्का खेलाडी दिपेन्द्रसिंह ऐरी ‘जेम चेन्जर’ बाट पुरस्कृत भएका छन् भन् अविनाश बोहराले ‘वेस्ट डेलिभरिज्’ अवार्ड पाएका छन्।

एसएमएस फ्रेन्डसिप कप टी–२० सिरिजका अन्तर्गत आइतबार भएको फाइनल खेलमा नेपालले गुजरातलाई १८ रनले जितेको हो। टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपालले गुजरातलाई १७७ रनको लक्ष्यको दिएको थियो। लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको गुजरातले २० ओभरको समाप्तिमा ८ विकेट गुमाएर १५८ रन मात्र बनाउन सफल भयो।

नेपालका बलर अविनाश बोहराले ४ ओभरमा सर्वाधिक ३ विकेट लिएर २६ रन मात्र दिए। चार ओभर फालेका दीपेन्द्रसिंह ऐरीले १३ रन खर्चेर २ विकेट लिए। करण केसी र कुशल मल्लले समान १/१ विकेट लिए।

यसैगरी गुजरातका कप्तान उमांगले २८ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ४० रन बनाए। २४ बल खेलेका आर्य देशाईले ४ चौका र २ छक्कासहित ३६ रन बनाउन सफल भए भने रुद्र पटेलले १७ रन बनाए। यसैगरी जयमितले र हर्ष देशाईले १५/१५ रन बनाए।

अघिल्लो इनिङमा नेपालका कप्तान रोहित पौडेल तेस्रो विकेटका रूपमा ४६ बलमा सर्वाधिक ७४ रन बनाएर क्याच आउट भएका भएका थिए।

कुशल भुर्तेलले २१ बलमा १९ रन बनाएका थिए। दीपेन्द्रसिंह ऐरीले ३ बलमा ७ रन बनाएर आउट भएका थिए। यसैगरी मोहम्मद आसिफले ३४ बलमा ३४ रन बनाएका थिए। कुशल मल्लले १३ बलमा ३१ रन बनाएका थिए भने सन्दिप जोराले ३ बलमा ७ रन बनाएका थिए।

यो खेल गुजरातको वापीस्थित क्रिकेट मैदानमा भएको थियो। नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियो। नेपाल यो सिरिजको एक खेलमा पराजित भई अन्य सबै खेलमा विजयी भएको हो।

टी–२० विश्वकपको तयारी स्वरूप नेपाल हाल भारत भ्रमणमा थियो। आजको खेलमा भने नेपालले चार परिवर्तन गरेको थियो। नेपालको टोलीमा कप्तान रोहित पौडेल, सोमपाल कामी, अभिनाश बोहरा र आसिफ शेख फर्किएका छन्। यसले नेपाललाई फाइदा पुगेको छ।

प्रकाशित: २५ चैत्र २०८० १८:३८ आइतबार

रोहितकुमार पौडेल एसएमएस फ्रेन्डसिप कप