खेल

नीलकण्ठ नारायण मानन्धर स्मृति: जुनिता र सरोज पहिलो

जुनिता श्रेष्ठ र सरोज मानन्धर सातौं नीलकण्ठनारायण मानन्धर स्मृति बेन्च प्रेस, स्क्वाट र डेडलिफ्ट प्रतियोगितामा पहिलो भएका छन्।

नेपालकै जेठो जिम नेपाल व्यायाम मन्दिरले नयाँ वर्षका अवसरमा आयोजना गरेको प्रतियोगितामा जुनिता महिलामा र सरोज पुरुषमा पहिलो भएका हुन्। विजेता सरोजले १० हजार र जुनिताले ७ हजार नगद पुरस्कार प्राप्त गरे।

सरोजले बेन्च प्रेस, स्क्वाट र डेडलिफ्टका प्रत्येक तीन सेटमा कुल तीन सय ५०.२८ केजी तौल उचाले। दिलेन्द्र महर्जन दोस्रो र सन्तोष गिरी तेस्रो स्थानमा रहे।

दिलेन्द्र तीन सय ४५.०६ केजी र सन्तोषले तीन सय २०.३६ केजी तौल उचाल्दै क्रमशः पाँच हजार र तीन हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गरे। महिलामा च्याम्पियन जुनिताले दुई सय १३.१३ केजी तौल उचालिन्।

एनी सायरा दोस्रो र पूजा सुनुवार तेस्रो भए। एनीले १६०.६३ केजी र पूजाले १४६.३६ केजी भार वहन गरे। एनी र पूजाले क्रमशः पाँच र तीन हजार नगद पुरस्कार पाए।

डेमोस्ट्रेसन प्रतिस्पर्धाको रूपमा डेडलिफ्टमा एकल स्पर्धामा खेलाइएको थियो। सर्वाधिक दुई सय १० केजी भार उचालेर सविन परियारले नगद १० हजार पुरस्कार जित्न सफल भए।

विजेतालाई काठमाडौं महानगरपालिकाका प्रवक्ता एवम् काठमाडौं–१७ का अध्यक्ष नवीन मानन्धर, काठमाडौं– २७ का अध्यक्ष योगेश खड्गी, व्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधान, प्रथम मिस्टर नेपाल तथा व्यायाम मन्दिर डाइरेक्टोरियल काउन्सिलका शिवलाल श्रेष्ठलगायतले पुरस्कारसहित ट्रफी प्रदान गरे।

प्रकाशित: २५ चैत्र २०८० ०९:२६ आइतबार

सातौं नीलकण्ठनारायण मानन्धर स्मृति बेन्च प्रेस स्क्वाट र डेडलिफ्ट प्रतियोगिता जुनिता श्रेष्ठ सरोज मानन्धर