खेल

कमजोर टोलीसँग नेपाल पराजित

कप्तान रोहितकुमार पौडेलसहित नियमित टोलीका चार सदस्यलाई आराम दिएको खेलमा नेपाल शुक्रबार भारतीय घरेलु टोलीसँग पराजित भएको छ।

नेपालले गुजरातमा जारी एसएमएस फ्रेन्डसिप कप ट्वान्टी– २० क्रिकेट प्रतियोगितामा बरोडा क्रिकेट संघसँग ३७ रनले हार सामना गरेको हो। एसिसी प्रिमियर कप र ट्वान्टी– २० विश्वकपको तयारीमा रहेको नेपालले भारतकै राज्यस्तरको कमजोर टोलीसँग हार सामना गरेको छ।

जारी एसएमएस फ्रेन्डसिप कपमा नेपालको यो पहिलो हार पनि हो। बरोडा र गुजरात क्रिकेट संघ सम्मिलित कपमा नेपालले अघिल्ला तीनै खेलमा जित निकाल्दै फाइनलमा स्थान बनाइसकेको थियो। त्यसैले शुक्रबार चौथो खेलमा नेपालले बरोडाविरुद्ध रोहितसँगै अनुभवी बलर सोमपाल कामी, ओपनर आसिफ सेख र बलर अविनाश बोहोरालाई आराम दिएको हो।

नेपाली टोलीका प्रशिक्षक मोन्टी देसाईले रोहितको स्थानमा दीपेन्द्रसिंह ऐरीलाई कप्तानको जिम्मेवारी दिएका थिए। गुजरातको वापीस्थित साई मेघपन स्पोर्ट्स लाइफ मैदानमा शुक्रबार नेपाली टोलीले सुरुआमा उत्कृष्ट बलिङ गर्‍यो। तर, लय जारी राख्न नसक्दा बरोडाले नेपालसामु १५७ रनको लक्ष्य प्रस्तुत गर्‍यो।

जबाफी ब्याटिङ गरेको नेपाल १८.५ ओभरमा ११९ रनमा समेटियो। नेपालका सन्दीप जोराले सर्वाधिक ५६ रनको योगदान गरे। ४३ बल खेलेका उनले चार चौका र तीन छक्का प्रहार गरे। विवेक यादवले १७ रन र कुशल भुर्तेलले १६ रन बनाए। त्यसबाहेक अन्य ब्याटर क्रिजमा टिक्नै सकेनन्।

बरोडाको बलिङमा ध्रुव पटेलले चार र लक्षित तोक्सियाले तीन विकेट लिए। समान चार ओभर बलिङ गरेका ध्रुवले १६ रन र लक्षितले १५ रन मात्र दिए। त्यसअघि टस जितेर ब्याटिङ रोजेको बरोडाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १५६ रनको योगफल बनायो।

बरोडाका लागि शाश्वत रावतले ३१, ध्रुव पटेलले २९, अमित पासीले २६, मोहित मोङ्गियाले २२ र अभिमन्युसिंह राजपुतले ११ रन बनाए। नेपालको बलिङमा करण केसी र गुल्सन झाले समान दुई विकेट लिए। आकाश चन्द, प्रतीश जिसी, ललितनारायण राजवंशी र कप्तान दिपेन्द्रसिंह ऐरीले समान एक विकेट निकाले।

नेपालले उपाधिका लागि आइतबार गुजरात क्रिकेट संघविरुद्ध चुनौती प्रस्तुत गर्नेछ। गुजरातसँगको दुवै खेल नेपालले जितेको थियो। नेपालले बरोडाविरुद्ध रोहितसँगै अनुभवी बलर सोमपाल कामी, ओपनर आसिफ सेख र बलर अविनाश बोहोरालाई आराम दिएको थियो।

प्रकाशित: २४ चैत्र २०८० ०८:४९ शनिबार

एसएमएस फ्रेन्डसिप कप ट्वान्टी– २० क्रिकेट प्रतियोगिता भारतीय घरेलु टोली गुजरात हार सामना