खेल

तिलौराकोट गोल्डकप: फाइनलमा नेपाल प्रहरी र हनामी भिड्ने

प्रथम कपिलवस्तु तिलौराकोट गोल्ड कपको अन्तिम सेमिफाइनल खेलमा सुदूरपश्चिम –११ लाई ३–० गोल अन्तरले पराजित गर्दै हनामी बीएफसी चितवन फाइनल प्रवेश गरेको छ। 

बाणगङ्गा स्थित बुद्ध रङ्गशालामा बिहीबार भएको खेलमा हनामीले पहिलो हाफमै २ गोलको अग्रता बनाएको थियो। पुनः दोस्रो हाफमा १ गोल थप्दै खेल ३–० गोल स्थितिमा ल्याइपुर्‍यायो। सुदूरपश्चिम –११ ले भने कुनै गोल गर्न सकेन।

हनामीका लागि विवेक गुरुङले पहिलो गोल गरेका थिए। त्यस्तै विकास थापाले अर्को गोल थपे। उनैले दोस्रो हाफमा हेडिङ मार्फत तेस्रो गोल गर्दै हनामीको जित सुनिश्चित गरे।

सुदूरपश्चिम –११ ले पनि गोल गर्न केही अवसर पाएको थियो। तर अवसरको सही सदुपयोग गर्न नसक्दा हार व्यहोर्नु पर्‍यो। 

सुदूरपश्चिमले त्रिभुवन आर्मीलाई टाइ ब्रेरकरमा पराजित गर्दै सेमिफाइनल सम्मको यात्रा तय  गरेको थियो। त्यस्तै हनामीले ‘ए’ डिभिजन क्लब मछिन्द्रलाई क्वाटरफाइनमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो।

गोल्ड कपको उपाधिको लागि चैत्र २४ नेपाल पुलिस क्लब र हनामी बीएफसी भिड्ने छन्।उपाधि विजेताले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ हजार सँगै ट्रफी, मेडल र प्रमाण पत्र पाउने छन्।

प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १ लाख रुपैयाँ पाउने आयोजक कपिलवस्तु फुटबल संघले जनाएको छ।

प्रकाशित: २२ चैत्र २०८० २०:५३ बिहीबार