खेल

नेपाल ‘ए’ ले आयरल्यान्ड वुल्भ्सलाई दियो २१४ रनको विशाल लक्ष्य

कीर्तिपुर क्रिकेट मैदानमा जारी टी–२० अभ्यासअन्तर्गतको खेलमा नेपाल ‘ए’ले आयरल्यान्ड वुल्भ्सलाई जितका लागि २१४ रनको लक्ष्य विशाल लक्ष्य दिएको छ।

नेपालले सात विकेट गुमाएर २० ओभरको समाप्तिमा २१३ रन बनाएको हो।

कीर्तिपुर क्रिकेट मैदानमा सोमबार भइरहेको खेलमा आयरल्यान्ड वुल्भ्सले टस जितेर पहिला फिल्डिङ्ग गर्ने निर्णय गरेको थियो। नेपाल ‘ए’ ले पहिला ब्याटिङ्ग गर्ने मौका पाएको थियो। 

पहिलो इनिङमा ब्याट्सम्यान नेपालका आरिफ शेखले ६ छक्का र ७ चौकासहित ४८ बलमा सर्वाधिक ९३ रन बनाएका छन्। यसैगरी रसिद खानले १३ बलमा २४ रन बनाए भने वसिर अहमदले २१ बलमा १९ रन बनाए। यसैगरी कमल ऐरीले ७ बलमा १९ रन बनाएर अविजित रहे।

लोकेश बम ७ बलमा ८ रन बनाएर आउट भएका थिए भने देव खनाल ७ बलमा ६ रन बनाएर आउट भए। यसैगरी कप्तान विनोद भण्डारीले ८ बलमा ११ रन मात्र बनाउन सफल भए। पवन शर्राफ १२ बलमा १३ रन बनाए भने एक बलको सामना गरेका नारायण जोशी १ रनमै सीमित भए। 

आयरल्यान्ड वुल्भ्सका बलर ह्यन्ड्सले २ विकेट लिए भने अन्य बलरले एक÷एक विकेट लिएका थिए। 

यसअघिका दुई खेल गुमाइसकेको नेपाल आयरल्यान्ड वुल्भ्सलाई सिरिजमाथि क्लिन स्वीप गर्नबाट रोक्न चाहन्छ।

प्रकाशित: १९ चैत्र २०८० १४:४८ सोमबार

आयरल्यान्ड वुल्भ्स नेपाल ‘ए’