खेल

विजय रावत पहिलो

विजय रावत तेस्रो किसुनजी स्मृति राष्ट्रिय खुला हाफ म्याराथनमा ऐतिहासिक पदक विजेतालाई पछि पार्दै पहिलो हुन सफल भएका छन्।

नेपाल लोकतान्त्रिक खेलकुद संघ बाग्मती प्रदेश समितिद्वारा आयोजित हाफ म्याराथनमा विजय पुरुषमा र पुष्पा भण्डारी महिलामा पहिलो भएका थिए। पुरुषमा विजयले १३औं दक्षिण एसियाली खेलकुदमा म्याराथन विजेता किरणसिंह बोगटी र एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपका स्वर्णविजेता अजितकुमार यादवलाई हराए। विजयले निर्धारित दूरी एक घण्टा सात मिनेट ५६ सेकेन्डमा पूरा गरे। किरणसिंह एक घण्टा ८ मिनेट २५ सेकेन्ड समय लगाउँदै दोस्रो भए।

अजितकुमार यादव एक घण्टा ११ मिनेट ३३ सेकेन्डसहित तेस्रो भए। अजित हङकङमा भएको तेस्रो एसियाली युथ (यु–२०) एथलेटिक्स च्याम्पियनसिपको तीन हजार मिटर दौडका स्वर्ण विजेता हुन्। महिलामा पुष्पाले निर्धारित दूरी एक घण्टा २३ मिनेट ५ सेकेन्डमा तय गरिन्। राममाया बुढा दोस्रो भइन् र उनले एक घण्टा ३३ मिनेट १२ सेकेन्ड समय लगाइन्। सुशान कार्की तेस्रो बनिन् र उनले एक घण्टा ३५ मिनेट ४४ सेकेन्डमा दूरी पार गरिन्।

पुरुष/महिला दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार नगद पुरस्कार प्राप्त गरे। पुरुष पाँच किलोमिटर दौडमा धनुवा नन्द पहिलो स्थानमा रहे। उनले १८ मिनेट ०९.१० सेकेन्ड समयमा दौड पूरा गरे।

विकेश घिमिरे (१८ मिनेट ३९.२६ सेकेन्ड) दोस्रो र नकुल घर्ती (१८ मिनेट ४३.५६ सेकेन्ड) तेस्रो भए। यसै स्पर्धाको महिलामा शर्मिला बस्नेत पहिलो भइन्। उनले निर्धारित दूरी २६ मिनेट ०७.३० सेकेन्डमा सकाइन्। सुस्मु डोल्मु तामाङ दोस्रो हुँदा २६ मिनेट  ०९.३४ सेकेन्डमा दूरी पार गरिन्।

३२ मिनेट ३४.३६ सेकेन्डमा दिविका गुरुङ तेस्रो भइन्। दुवै समूहका विजेताले १५ हजार, उपविजेताले १० हजार र तेस्रोले पाँच हजार नगद पुरस्कार पाए। विजेतालाई पूर्वमन्त्री धनराज गुरुङ, पूर्व प्रदेश सांसद् राधा घले र आयोजक समितिका अध्यक्ष दीपक गुरुङ लगायतले पुरस्कृत गरे। 

प्रकाशित: १८ चैत्र २०८० ०८:०१ आइतबार

विजय रावत पहिलो ऐतिहासिक पदक विजेता