खेल

नेपाली टिम इतिहास रच्न आतुर छ: प्रशिक्षक मोन्टी

नेपाली क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले नेपाली टिमको विश्वकप यात्रा आफ्ना लागि सबैभन्दा खुसीको क्षण भएको बताएका छन्। उनले नेपाली टिम इतिहास रच्न आतुर रहेको पनि उल्लेख गरे।

आइसिसी ट्वान्टी–२० विश्वकपको तयारी स्वरूप भारतको राज्यस्तरका टोलीसँग ट्वान्टी–२० प्रतियोगिता खेल्न जान लागेका नेपाली क्रिकेट टोलीको बिदाइ कार्यक्रममा प्रशिक्षक देसाईले यस्तो अभिव्यक्ति दिएका हुन्।

नेपालले विश्वकप अगाडि संयुक्त अरब इमिरेट्स (युएई)मा एसिसी प्रिमियर लिग तथा भारतका बरोडा र गुजराजतको टोलीसँग एसएमएस फ्रेण्डसिप कप खेल्दै छ।

देसाईले एसिसी प्रिमियर कप अघि भारतमा हुने यो प्रतियोगिता नेपालका लागि फलदायी हुने विश्वास व्यक्त गरेका हुन्। यो प्रतियोगिताका लागि क्यानले पनि धेरै मेहनत गरेको उनको भनाइ छ।

डिफेन्डिङ च्याम्पियनका रूपमा एसिसी प्रिमियर लिगको यस संस्करणमा सहभागी हुने भएकाले आफ्नो टोली उत्साहित रहेकोको उनको तर्क थियो। डिफेन्डिङ च्याम्पियनको लक्ष्य पनि तय भइसकेको उनले बताए। मोन्टीले पछिल्लो वर्ष नेपालका लागि राम्रो रहेको र आगामी वर्ष पनि राम्रो रहने विश्वास व्यक्त गरे।

प्रकाशित: १५ चैत्र २०८० १३:५९ बिहीबार

नेपाली क्रिकेट क्रिकेट मोन्टी देसाई नेपाली टिम विश्वकप यात्रा आइसिसी ट्वान्टी–२० विश्वकप एसिसी प्रिमियर लिग