खेल

नेपाल पुलिस र बुढानीलकण्ठ क्वार्टरफाइनलमा

नेपाल पुलिस र बुढानीलकण्ठ भलिबल क्लब आठौं आरबिबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ सोमबार क्वार्टरफाइनलमा पुगेका छन्।

जारी च्याम्पियनसिपमा समूह ‘सी’ बाट पुलिस विजेता र बुढानीलकण्ठ उपविजेताका रूपमा क्वार्टरफाइनलमा स्थान बनाउन सफल रहे। सोमबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा पुलिसले बुढानीलकण्ठलाई ३–० को सोझो सेटमा हराउँदै विजेता बनेको हो। पुलिसले बुढानीलकण्ठलाई २५–१९, २५–१४, २५–२२ ले हरायो । समान दुई खेलबाट पुलिसले शतप्रतिशत जित निकाल्दा बुढानीलकण्ठले भने कर्णाली प्रदेशलाई हराएको थियो। यो जित नै बुढानीलकण्ठका लागि दोस्रो चरणमा पुग्न पर्याप्त बन्यो।

आर्मीले पनि दोस्रो जित निकाल्दै क्वार्टरफाइनल सम्भावना बलियो बनाएको छ। चार टोली रहेको समूह ‘डी’ मा आर्मीले दुई जितसँगै दोस्रो चरणको सम्भावना बलियो बनाएको हो । सोमबार आर्मीले न्युटन क्लबमाथि २५–१५, २५–१२ र २५–२० को जित निकाल्यो। यो समूहमा आर्मी र न्युटनसहित गण्डकी प्रदेश र मणिमुकुन्द भलिबल क्लब छन्। सोमबार नै गण्डकीले दोस्रो खेलमा पहिलो जित निकालेको छ। आर्मीसँगको हारबाट प्रतियोगिता सुरुआत गरेको गण्डकीले सोमबार मणिमुकुन्दलाई २५–१८,२५–१४, २७–२९ र २५–१८ ले हराएको हो।

पुरुषतर्फ १३ टोलीले प्रतिस्पर्धा गरेका छन् र यी टोलीलाई चार समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा हेल्प नेपाल स्पोर्ट्स क्लब, कोसी प्रदेश र ढोरपाटन भलिबल क्लब तथा समूह ‘बी’ मा एपिएफ, सुदूरपश्चिम प्रदेश र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रले चुनौती प्रस्तुत गर्दै छन्। समूहका शीर्ष दुई टोलीले क्वार्टरफाइनल यात्रा यात्रा तय गर्नेछन्। महिलातर्फ सोमबार तीन खेल भएका थिए। न्यु डायमन्ड स्पोर्ट्स क्लबले एपिएफ क्लबलाई २५–१७, १७–२५, २५–१५,२५–२३ ले हराउँदै सुखद सुरुआत गरेको छ।

नेपाली राष्ट्रिय टोलीकी कप्तान अरूणा शाही र भारतीय खेलाडी सम्मिलित एभरेस्ट भलिबल क्लबले त्रिभुवन आर्मी क्लबलाई २४–२६, २५–१७, २५–१९, २५–२२ ले स्तब्ध बनाउँदै लगातार दोस्रो जित निकाल्यो। एभरेस्टको यो दोस्रो जित हो। महिलामा कुल सात टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। समूह ‘ए’ मा एभरेस्ट र कर्णालीसहित गत संस्करणको विजेता नेपाल पुलिस र त्रिभुवन आर्मी क्लब छन्। दुई समूहका शीर्ष दुई टोलीले सेमिफाइनल यात्रा तय गर्नेछन्। अर्को समूहमा चन्द्रागिरि नगरपालिका न्यु डायमन्ड स्पोट्र्स एकेडेमी, एपिएफ र मधेस प्रदेश छन्। नेपाल भलिबल संघको आयोजनामा आठ दिनसम्म चल्ने प्रतियोगितामा दुवै तर्फका विजेताले पाँच लाख, उपविजेताले दुई लाख र तेस्रो हुने टोलीले एक लाख २५ हजार रूपैयाँ पाउनेछन्।

प्रकाशित: ६ चैत्र २०८० ०६:४१ मंगलबार

नेपाल भलिबल संघ बुढानीलकण्ठ भलिबल क्लब एपिएफ र नेपाल पुलिस क्लब आठौं आरबिबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप