खेल

चन्द्रागिरि खुला तेक्वान्दो वैशाख तेस्रो साता

प्रथम चन्द्रागिरि खुला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता वैशाखको तेस्रो सातादेखि हुने भएको छ।

चन्द्रागिरि तेक्वान्दो डोजाङको आयोजनामा आगामी वैशाख २१ गतेदेखि प्रतियोगिता हुन लागेको हो। प्रतियोगितामा ग्योरोगी र पुम्से गरी कुल २८ स्वर्णका लागि प्रतिस्पर्धा हुने आयोजक डोजाङका प्रमुखसमेत रहेका प्रतियोगिता संयोजक सुवास तामाङले जानकारी दिए।

सिनियरको पुरुष-महिलामा ४-४, जुनियरको पुरुष-महिलामा ३-३, सब जुनियरको पुरुष/महिलामा ५-३, एकल पुम्सेको पुरुष-महिलामा २-२ र पेयर पुम्सेमा २ स्पर्धामा खेल हुने छ। उनका अनुसार करिब ८ सय खेलाडीको सहभागिता अपेक्षा गरिएको छ।

शीर्ष तीन स्थान हात पार्ने टोलीले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। उत्कृष्ट पुरुष-महिला खेलाडी, निर्णायक र प्रशिक्षकलाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने छ। चन्द्रागिरि नगरपालिकाको सहयोगमा हुन लागेको तीन दिने प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछन्।

प्रकाशित: ३ चैत्र २०८० ०६:५० शनिबार

वैशाख तेस्रो साता प्रथम चन्द्रागिरि खुला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता चन्द्रागिरि तेक्वान्दो डोजाङ