खेल

वडा कार्यालयले खेलाडीहरूलाई दिएको खुसी

वर्षौंदेखि जीर्ण अवस्थामा रहेको विरगन्जको ठाकुरराम कलेजको खेलकुद मैदानमा अहिले खेलाडीहरू विभिन्न खेल खेल्दै गरेको देख्न सकिन्छ। कलेजको शिक्षाशास्त्र संकायको भवनअगाडि रहेको सो खेलकुद मैदान लामो समयदेखि घाँसे मैदानका रुपमा रहेको थियो। विरगन्ज महानगरपालिका १० ले मर्मत–सम्भार गरेपछि मैदानमा खेलाडी कुद्न थालेका हुन्।

२००९ सालमा स्थापित वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसको शिक्षा संकायको भवनअगाडि रहेको खेलकुद मैदान करिब ३÷४ वर्षदेखि जीर्ण अवस्थामै रह्यो। कलेजमा अध्ययनरत विद्यार्थीले खेलकुदमा प्रयोगात्मक परीक्षासमेत हुन सकेको थिएन। अहिले खेलकुद मैदान पुनः सुचारु भएपछि विद्यार्थी हर्षित भएका छन्।

खेल मैदान सञ्चालनमा आएपछि स्थानीय खेलाडीको मनोबल बढाउन वडाले गत फागुन २६ देखि वडास्तरीय क्रिकेट टुर्नामेन्ट प्रतियोगिता सुरु ग¥यो। अहिले खेल मैदानमा खेलाडीहरू कुदिरहेको देखिन्छ।

टुर्नामेन्टमा सहभागी स्थानीय सिद्धान्तराज साह राष्ट्रिय तेक्वान्दो खेलाडी हुन्। वडाभित्र स्तरीय खेलाडी उत्पादन गर्नका लागि यो सराहनीय काम भएको उनले बताए। खेल मैदानलाई थप सुधार गरिनुपर्ने उनको भनाइ छ।

अर्का खेलाडी हिमांशुं माली भगत यो खेल मैदानसँग स्थानीय खेलाडीको भविष्य जोडिएको बताउँछन्। उनी भन्छन्, ‘यसलाई थप व्यवस्थित गर्न सके खेल क्षेत्रमा विद्यार्थी तथा स्थानीय युवाहरूको सक्रियता बढ्न गई राष्ट्रिय खेलाडी उत्पादनमा टेवा पुग्छ।’  

शिक्षाशास्त्र संकायका सहायक क्याम्पस प्रमुख मोहनप्रसाद यादवले खेल मैदान सञ्चालनमा आएपछि विद्यार्थीका लागि धेरै सहयोग पुगेको बताए। उनी भन्छन्, ‘फिल्डकै अभावमा रोकिएको स्नातक तहको प्रथम वर्षको शारीरिक शिक्षाको प्रयोगात्मक परीक्षा अब हुने छ।’

यसअघि खेलकुद मैदान घाँसे मैदानमा परिणत भएको थियो। सुरक्षाको दृष्टिकोणले जोखिमपूर्ण रहँदै आएको थियो। लागुऔषध सेवनकर्ताको सुरक्षित स्थल थियो, जसका कारण स्थानीय सर्वसाधारण बिहानबेलुका हिँडडुल गर्नसमेत डराउँथे। वडाको पहलमा काँसका झारहरू हटाएपछि सफा देखिएको छ।

उपप्राध्यापक वीरेन्द्रप्रसाद साह खेल तथा शिक्षा एकअर्कासँग जोडिएको विषय रहेको बताउँछन्। उनी भन्छन्, ‘यो मैदान शारीरिक शिक्षाका विद्यार्थीलाई खेल्नका लागि त हो नै, कलेजको सम्पत्ति पनि हो। यसको संरक्षण गर्ने दायित्व वडाको काँधमा आएको छ। वडाको सक्रियताले समाजमा सकारात्मक सन्देश गएको छ।’

वडाभित्रका नागरिकको हितका लागि काम गर्नु आफ्नो कर्तव्य रहेको १० वडाका अध्यक्ष सुशील साह कानुले बताए। उनले भने, ‘स्थानीय स्रोतसाधन जुटाएर कम लागतमा खेल मैदान मर्मत गरिएको हो। क्याम्पसको आग्रहलाई ध्यानमा राखेर खेल मैदानको स्तरोन्नति गरिएको हो।’

आदर्शनगर रंगशाला केही पर छ। त्यहाँ समयसमयमा विभिन्न कार्यक्रम आयोजना हुन्छन्। वडा १, ३ र ४ का स्थानीय खेलाडीले त्यहीं खेल्दै आएका छन्। यताका युवा तथा विद्यार्थीका लागि यो मैदान सुगम र सहज हुने भएकाले पनि यस मैदानलाई मर्मत गरी सञ्चालनमा ल्याएको वडाध्यक्ष कानु बताउँछन्। उनी भन्छन्, ‘आफू खेलप्रेमी रहेकाले खेल मैदानमा बाँकी काम सम्पन्न गरी युवालक्षित खेल गतिविधि बढाउने हाम्रो उद्देश्य रहेको छ।’

यस मैदानमा विद्यार्थी तथा युवाहरू खो–खो, कबड्डी, फुटबललगायत विषयगत खेल अभ्यास गर्दै आएका छन्।

प्रकाशित: २ चैत्र २०८० १६:०५ शुक्रबार

घाँसे मैदान खेलाडी कुद्ने मैदान ठाकुरराम कलेजको खेलकुद मैदान मर्मत–सम्भार विरगन्ज महानगरपालिका १०