खेल

राष्ट्रिय एन्टी डोपिङ एजेन्सीको सक्रियता बढाउँदै डा. भण्डारी

पछिल्ला समय डोपिङ परीक्षणमा चर्चित फुटबलर नै असफल भइरहँदा नेपालमा एन्टी डोपिङमा प्रशिक्षण कार्यक्रम भएको छ।

राष्ट्रिय एन्टी डोपिङ एजेन्सीको पहलमा नेपाली खेलाडीलाई एन्टी डोपिङ शिक्षा प्रदान गरिएको हो। केही समय अगाडि मात्र विश्वकप विजेता फ्रान्सका पउल पोग्बामाथि एन्टी डोपिङ परीक्षणपछि लामो समयको प्रतिबन्ध लागेको छ।

जानीजानी या अन्जानवस खेलाडीहरू डोपिङमा फसे पनि उनीहरूमाथि प्रतिबन्ध लाग्दा करियर नै सकिएको घटनाहरू हुँदै आएका छन्। सोही अवस्था सिर्जना नहोस् भन्दै पछिल्ला समय नेपालको राष्ट्रिय एन्टी डोपिङ एजेन्सीले विभिन्न एन्टी डोपिङ कार्यक्रम आयोजना गर्दै आइरहेको छ।

एक महिना अगाडि मात्र डा. असिम भण्डारी राष्ट्रिय एन्टी डोपिङ एजेन्सीको संयोजक नियुक्त भएका थिए। मन्त्रीपरिषद्ले उनलाई सो जिम्मेवारी दिएपछि उनी खेलाडीलाई एन्टी डोपिङबारे प्रशिक्षण गराउन सक्रिय रहँदै आएका छन्।

केही समय अगाडि उनले राष्ट्रिय रग्बी लिग प्रतियोगिताका दौरानलगायत केही कार्यक्रममा खेलाडीलाई एन्टी डोपिङ सम्बन्धी प्रशिक्षण गराउँदै आएका छन्। मंगलबार डा. भण्डारीले विभागीय टोली सशस्त्र प्रहरी बल एपिएफका खेलाडीलाई एक दिने प्रशिक्षण दिएका छन्।

सो प्रशिक्षणमा राष्ट्रिय टोलीमा रहेका एपिएफका ५० खेलाडी समावेश थिए। उक्त प्रशिक्षणमा खेलाडीलाई डोपिङबारे जानकारी, एन्टी–डोपिङ नियमहरू, मनोरञ्जनात्मक औषधिको प्रयोगको लागि सकारात्मक परीक्षण र प्रतिस्पर्धाको समयमा ओभर–द–काउन्टर औषधिहरू प्रयोगबारे खेलाडीसँगै जानकारी लिँदै थाहा नभएका पक्षबारे उनीहरूलाई शिक्षित गराइएको थियो।

सन्तुलित आहार पूरकको प्रयोगभन्दा उत्तम विकल्प र खेलाडीले कुनै पनि औषधि लिनुअघि डोपिङ नियन्त्रण अधिकारीसँग परामर्श गर्ने बारे प्रशिक्षण गराइएको थियो।

हलचोकस्थि सशस्त्र प्रहरीको मुख्यालयमा उक्त प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो। सो प्रशिक्षण कार्यक्रममा सशस्त्र प्रहरी बलका एसपी सुधीर सुबेदी विशेष अतिथि थिए।

प्रकाशित: २९ फाल्गुन २०८० २१:१९ मंगलबार