खेल

कोटेश्वर टिम च्याम्पियन

आयोजक कोटेश्वर तेक्वान्दो डोजाङ प्रथम योङ स्टार खुला तेक्वान्दो प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेको छ।

योङ स्टार ग्रुप सहआयोजक रहेको प्रतियोगितामा कोटेश्वर ११ स्वर्ण, १० रजत र १० कांस्य पदकका साथ टिम च्याम्पियन भएको हो। चन्द्रागिरी डोजाङ दोस्रो र क्षेत्रपाल डोजाङ तेस्रो भए। चन्द्रागिरीले १० स्वर्ण, सात रजत र तीन कांस्य जित्यो।

क्षेत्रपालले तीन स्वर्ण, पाँच रजत र दुई कांस्य हात पार्‍यो। शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३ सय, २ सय र १ सय अमेरिकी डलर नगद पुरस्कार हात पारे। प्रतियोगिताको पुरुषमा हिमालयका सविन बर्तौला तथा महिलामा कोटेश्वरकी हृदयानी बस्नेत उत्कृष्ट खेलाडी घोषित भए।

दुवैले जनही ५० अमेरिकी डलर नगद पुरस्कार पाए। शीर्ष तीन स्थान हात पार्ने टिम र उत्कृष्ट खेलाडीको नगद पुरस्कार नवौं दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेताद्वय नीराजन श्रेष्ठ र निर्मल श्रेष्ठले प्रायोजन गरेका हुन्।

विजेतालाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का कार्यकारी समितिका सदस्य एकेन्द्र कुँवर र तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।

प्रकाशित: २७ फाल्गुन २०८० ०८:४० आइतबार

कोटेश्वर टिम च्याम्पियन