खेल

तेस्रो भक्तपुर कपको उपाधि पाण्डुबजार एफसीलाई

तेस्रो भक्तपुर कप फुटबल प्रतियोगिता २०८० को उपाधि पाण्डुबजार फुटबल क्लब (एफसी) ले जितेको छ। शनिबार भएको फाइनल खेलमा सामाजिक युथ क्लब कोटेश्वर काठमाडौंलाई  ३-२ गोल अन्तरले पराजित गर्दै उसले उपाधि चुमेको हो।

खेल सुरु भएको ६ मिनेटमै सामाजिक युथ क्लब कोटेश्वरका लागि डीवी चौधरीले पहिलो गोल गरेता पनि उपाधि भने दिलाउन सकेनन्।

खेलको २१ औ मिनेटमा पाण्डुबजारका लागि विवेक कवांले पहिलो गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसपछि रोमाञ्चक रुपमा अघि बढेको खेलमा फेरि पाण्डुबजारकै उही विवेकले पहिलो हाफको २८ औं मिनेटमा अर्को गोल थपेर अग्रता दोब्बर बनाए।

त्यसपछि खेलको ३४ औं मिनेटमा पाण्डुबजारका सतिश सुवालले थप एक गोल गर्दै जित सुनिश्चित जस्तै पारे।

सामुदायिकबाट रोशन राईले एक गोल फर्काउन भने सफल भए। उनले खेल ३-२ को स्थितिमा ल्याइपुर्‍याए। त्यसपछिबाट दुवै टिमको तर्फबाट कुनै गोल हुन सकेन र पाण्डुबजारले कप चुमे।

उपाधि विजेता पाण्डुबजारले एक लाख २५ हजार नगदसहित टफी प्राप्त गर्याे। दोस्रो स्थान हासिल गरेको सामाजिकले ६५ हजार रुपैयाँ नगद पुरस्कार र टफीमा चित्त बुझायो। 

उनीहरुलाई नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं संघीय सांसद प्रेम सुवालले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे। प्रतियोगिता भक्तपुर नगरपालिका वडा नं-७ स्थित महेश्वरी खेल मैदानमा भएको थियो।

प्रतियोगितामा कुल १६ वटा टिमकाे सहभागिता थियो। त्यसमा भक्तपुरका ११ वटा टिम थिए। खेलको आयोजना भक्तपुर युवा टिम गोल्मढी भक्तपुरले गरेको थियो।

प्रतियोगिताको उत्कृष्ट गोल किपरका रुपमा सामाजिक युवा क्लबका सुशील कार्की, बेष्ट डेफेण्डरको रुपमा पाण्डुबजारका सुर्दशन श्रेष्ठ, बेष्ट मिड फिडरको रुपमा सामाजिक युथ क्लबका सन याका, बेष्ट स्टाइकर पाण्डुबजारकै विवेक कवां, बेष्ट कोच पाण्डुबजारका रुपेन अवाल घोषित भए।

प्रतियोगितामा उत्कृष्ट दर्शकलाई पनि पुरस्कृत गरिएको थियो। उत्कृष्ट दर्शकका रुपमा किरण सितिखु, मञ्जु घिसिंग, मनिता मोक्तान र सुनिल देउलालाई पुरस्कृत गरियो।

प्रतियोगिता फागुन १६ गते शुक्रबारदेखि सुरु भएको थियो।

प्रकाशित: २६ फाल्गुन २०८० १७:४५ शनिबार