खेल

घरेलु टोली कोशीलाई हराउँदै मधेस विजयी

विराटनगरमा जारी कोशी प्रदेश राष्ट्रिय टी-२० प्रतियोगितामा मधेस र लुम्बिनी प्रदेश विजयी भएका छन्।

बिहीबार बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला रंगशालामा भएको खेलमा घरेलु टोली कोशीलाई ३ विकेटले पराजित गर्दै मधेसले जितको खाता खोलेको ‍हाे।

टस जिती ब्याटिङ थालेको कोशीले १९ ओभर ४ बल खेल्दै सबै विकेटको क्षतिमा १ सय १७ रन बनाउन सफल भयो। श्रवण यादवले २३, फिर्दोस अन्सारीले २२ रन, दीपेश कँडेलले २१ र सुजन थपलियाले १६ रन बनाए। मधेसका प्लेयर अफ द म्याच अविनाश तिवारी र रञ्जित कुमारले समान ३–३ विकेट, राजेश यादव र हरिशंकर साहले २–२ विकेट लिए।

१ सय १८ को लक्ष्य पछ्याएको मधेसले १९ ओभर ३ बलमा ७ विकेट गुमाउँदै पाएको लक्ष्य पार गरेको थियो। अरनिको यादवले २७, मयन यादवले २४ र अभिषेक तिवारीले १८ रन बनाए। कोशीका दीपेश कँडेलले ३ विकेट लिए।

अर्को खेलमा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गर्‍यो। टस जितेर ब्याटिङ गरेको गण्डकीले १७ ओभर १ बलमा सबै विकेट गुमाउँदै ९० रनमै समेटियो। दीपक डुम्रेले २८, ईश्वर क्षेत्रीले १८ र समिर कँडेलले ११ रन बनाए। लुम्बिनीका प्लेयर अफ द म्याच वीर मगरले ४, निर्मल गुरुङ र कृष्ण कार्कीले समान २–२ विकेट लिए।

९१ रनको लक्ष्य पाएको लुम्बिनीले १६ ओभर १ बलमा ३ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो। देव खनालले ३४, आकाश त्रिपाठी २९ रन बनाए। गण्डकीका सुभाष भण्डारीले २ र सन्दीप पराजुलीले १ विकेट  लिए।

शुक्रबारको पहिलो खेल सुदूरपश्चिम प्रदेश र नेपाल पुलिस क्लब तथा दोस्रो खेल कर्णाली प्रदेश र त्रिभुवन आर्मी क्लवबीच हुनेछ। 

प्रकाशित: २४ फाल्गुन २०८० २०:१० बिहीबार