खेल

भुटानविरुद्ध नेपाल ३-० ले विजयी

साफ यू–१६ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा भुटानविरुद्ध नेपाले विजयी हासिल गरेकाे छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज सम्पन्न खेलमा नेपालले भुटानलाई ३–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो। नेपालका लागि पूजा गिरी, भूमिका बुढाथोकी र ग्यान्सु डोल्मा लोले समान एक–एक गोल गरे।

खेलको १४ औँ मिनेटमा पूजाको गोलमार्फत नेपालले पहिलो अग्रता लियो। पूजाले गोल गरेको चार मिनेटपछि कप्तान भूमिकाले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन्।

खेलको ३१ औँ मिनेटमा ग्यान्सुले एक गोल थपिन्। त्यसपछि खेलमा गोल हुन सकेन र नेपालले भुटानमाथि सहज जित निकाल्यो। जितसँगै नेपालले प्रतियोगितामा पहिलो जित हासिल गरेको थियो।

नेपाल पहिलो खेलमा बङ्गलादेशसँग २–० ले पराजित भएको थियो। यससँगै नेपालले प्रतियोगितामा तीन अङ्क बटुलेको छ। अब नेपालले यही फागुन २४ गते भारतसँग खेल्नेछ।

प्रकाशित: २१ फाल्गुन २०८० १७:५१ सोमबार