खेल

दाङ क्रिकेट लिग फाइनल आज : दंगाली लायन्स र तुलसीपुर रोयल्स भिड्दै

दाङ क्रिकेट लिगको दोस्रो संस्करणको फाइनल खेल आज हुँदै छ। खेल दंगाली लायन्स र तुलसीपुर रोयल्सबीच प्रतिस्पर्धा हुँदै छ।

शुक्रबार भएको पहिलो खेलमा देउखुरी वारियर्सलाई पराजित गर्दै दंगाली लायन्सले फाइनल यात्रा तय गरेको थियो भने दोस्रो खेलमा घोराही टाइगर्सलाई पराजित गर्दै तुलसीपुरले पनि फाइनल यात्रा तय गरेको थियो।

लिग चरणका खेल समाप्त हुँदा तुलसीपुर रोयल्स सबै ४ खेलमा जित दर्ता गर्दै ८ अंकसहित शीर्ष स्थानमा रहेको थियो। दोस्रो स्थानमा रहेको दंगाली लायन्सले ४ खेलमा ३ जित र १ खेलमा हार बेहोर्‍यो।

घोराही टाइगर्स ४ अंकसहित तेस्रो, पुरनधारा च्यालेन्जर्स २ अंकसहित चौंथो तथा सबै ४ खेलमा पराजित देउखुरी अंकविहीन रहँदै पाँचौं स्थानमा सीमित बन्यो।

शुक्रबारको पहिलो खेलमा दंगाली लायन्सले देउखुरी वारियर्सलाई ६ विकेटले पराजित गर्‍यो। देउखुरीले दिएको १२६ रनको लक्ष्य दंगालीले ४ विकेट गुमाएर १८।४ ओभरमा भेटायो। दंगाली लायन्सका लागि ओपनर शंकर रानाले अविजित ६७ रन योगदान दिए। बसिर अहमदले २५, शिशिर डाँगीले अविजित १७ रन बनाए।

देउखुरीका विशाल विक्रम केसीले २ तथा शुभम खनाल र प्रज्ज्वल थापाले १(१ विकेट लिए। यसअघि टस जितेर ब्याटिङ गरेको देउखुरी वारियर्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२५ रन बनाएको थियो।

प्रकाशित: १९ फाल्गुन २०८० ०६:३९ शनिबार

दाङ क्रिकेट लिग तुलसीपुर रोयल्स दोस्रो संस्करण फाइनल दंगाली लायन्स