खेल

नेपाल टि–२० सिरिज: नेदरल्यान्ड्सद्वारा नामिबियासामू २४८ को विशाल लक्ष्य प्रस्तुत

नेपाल टि–२० त्रिकोणीय क्रिकेट सिरिजको तेस्रो खेलमा नेदरल्यान्ड्सले नामिबियालाई २४८ रनको भिमकाय लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदानमा आज बिहान नेदरल्यान्ड्सक कप्तान स्कट एडवार्डले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका थिए।

कप्तानको निर्णयमा नेदरल्यान्ड्सका ब्याटर खरो उत्रिए। पहिलो विकेटका रुपमा ओपनर म्याक्स ओडाउट तेस्रो ओभरको पाँचौ बलमा सस्तैमा आउट भएपनि त्यसपछि दोस्रो विकेटका लागि अर्का ओपनर माइकल लेभितले शतक र तेस्रो नम्बरमा क्रिजमा आएका सिब्रन्ड एन्गेल्ब्रेच्टबीच आक्रामक १९३ रनको साझेदारी भयो।

जसमा लेभितले शतक र एन्गेल्ब्रेच्टले अर्धशतक प्रहार गरे। ४९ बलमा शतक पूरा गरेका लेभित ६२ बलमा १३५ रनमा पेभेलियन फर्किए भने  एन्गेल्ब्रेच्टले ४० बलमा ७५ रनको योगदान दिए। यस्तै डेथ ओभरमा आएका तेजा निदामानुरुले तीन बलमा १८ रन जोडेर रनआउट भए।

यो सँगै निर्धारित २० ओभरमा नेदरल्यान्ड्सले पाँच विकेटको क्षतिमा २४७ रन जोड्न सफल भयो। जुन त्रिवि क्रिकेट मैदानमा खेलिएका हालसम्मका टि–२० अन्तर्राष्ट्रिय खेलमध्येको सर्वोच्च स्कोर हो।

नामिबियाका तर्फबाट बलिङमा रुबेन ट्रम्पलम्यानले ४ ओभरमा ४६ रन खर्चिएर दुई विकेट लिँदा बेन सिकोंगो र जान फ्राइलिकले एक/एक विकेट लिए।

यसअघि सिरिजमा भएका दुई खेलमा नेदरल्यान्ड्स र नामिबियाले नेपालसँग जित निकालेका छन्।

प्रकाशित: १७ फाल्गुन २०८० १३:०५ बिहीबार

नेपाल टि–२० सिरिज