खेल

प्रदेशस्तरीय फुटबलमा सुर्खेत र हुम्लाको विजयी सुरुवात

जुम्ला सदरमुकाम खलंगामा मंगलबारदेखि सुरु भएको कर्णाली प्रदेशस्तरीय फुटबल प्रतियोगितामा हुम्ला र सुर्खेतले विजयी सुरुवात गरेका छन्।

बुधबार भएको पहिलो खेलमा मुगुलाई ४-१ गोल अन्तरले हराउँदै सुर्खेतले विजयी सुरुवात गरेको हो।

खेलको ३१ औं मिनेटमा सुर्खेतका नविन ओलीले टोलीलाई पहिलो गोल दिलाए। खेलको ५७ औं मिनेटमा उनैले दोस्रो गोल गर्दै टिमको अग्रता दोब्बर बनाए।

खेलको ६० औं र ६८ औँ मिनेटमा सुर्खेतका भरत नगलले दुई गोल गर्दै जीत सुनिश्चित गरे। मुगुको तर्फबाट मिसी शाहीले ४८ औं मिनेटमा एक गोल गरेता पनि जित भने दिलाउन सकेनन्।

त्यस्तै बुधबारनै भएको दोस्रो खेलमा हुम्लाले जाजरकोटलाई २-० गोल अन्तरले पराजित गरेका छ।

खेलको ३३ औँ मिनेटमा पेनाल्टी सुट आउट मार्फत पहिलो गोल गर्दै हुम्लाका सागर शर्माले खाता खोले।

दोस्रो गोल ५३ औं मिनेटमा सुनिल शाहीले गरे। जाजरकोटले भने खेल अवधिभर कुनै पनि गोल गर्न सकेन।

प्रतियोगितामा जुम्लासहित सुर्खेत, कालिकोट, हुम्ला, मुगु र जाजरकोटको सहभागिता रहेको छ।

प्रकाशित: १६ फाल्गुन २०८० २२:३३ बुधबार