खेल

अन्तर्राष्ट्रिय आइटिएफ तेक्वान्दोमा भाग लिन जाने खेलाडीलाई बिदाइ

मलेसियामा हुने अन्तर्राष्ट्रिय आइटिएफ तेक्वान्दो प्रतियोगितामा भाग लिन जाने खेलाडीलाई बिदाइ गरिएको छ। 

‘हवारङ वाररिअर आइटिएफ तेक्वान्दो वल्र्ड च्याम्पियनसिप’मा भाग लिन जान लागेकी सिजिना तामाङलाई बिदाइ गरिएको हो। मोरङ क्षेत्र नम्बर ४ का प्रदेशसभा सदस्य जयप्रकाश चौधरी र कोशी खेलकुद विकास बोर्डका सदस्यसचिव हंसराज वाग्लेले संयुक्त रुपमा भोजपुर घर भएकी तामाङलाई बिदाइ गरेका हुन्।

तामाङलाई शुभकामना दिँदै उनीहरुले कोशी प्रदेश सरकार खेल र खेलाडीप्रति उत्तरदायी भएर लागेको बताए। खेलाडीहरु आफ्नै लगानीमा खेलको अभ्यास गरेर राष्ट्रका लागि खेल्ने गरेको हुँदा सबै पक्षले खेलकुदको विकासमा विशेष ध्यान दिन जरुरी रहेको बताए।

खेलाडीहरु स्वदेश वा विदेशमा हुने प्रतियोगितामा भाग लिन जाँदा आफ्नो खर्च गरेर जानु पर्ने अवस्थाको अन्त्य गर्न सरकारले विशेष योजना ल्याउनु पर्ने बताउँदै, सदस्यसचिव वाग्लेले भने, ‘कुनै पनि प्रतियोगिता खेल्न जाने खेलाडीको स्रोत सुनिश्चित हुनुपर्छ अर्थात उनी जाने आउनेका साथै बस्ने र खाने राम्रो बन्दोबस्त भए खेलाडीले राम्रो खेल प्रदर्शन गर्न सक्छन्।’

प्रदेश खेलकुद बोर्डले खेल र खेलाडीको प्रवर्द्धनका लागि राष्ट्रिय वा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेताहरूलाई सम्मान गर्ने प्रचलनमा ल्याएको बताउँदै, सदस्यसचिव वाग्लेले भने, ‘देशमै पहिलो पटक हाम्रो बोर्डले हाम्रो प्रदेशका खेलाडीहरुलाई गत वर्ष पदकका आधारमा नगदका साथै सम्मान पत्रले सम्मान गर्‍यौँ। उनीहरु धेरै वर्षदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेर मेडल थन्काउने मात्रै काम भयो। उहाँहरूलाई सरकारको तर्फबाट हामीले योजना बनाएर सम्मान गरेका हौँ।’

नेपाल अन्तर्राष्ट्रिय आइटिएफ तेक्वान्दो महासंघका केन्द्रीय अध्यक्ष प्रवीणकुमार कार्कीका अनुसार प्रतियोगितामा तामाङसहित चार खेलाडीका साथै अम्पायर विक्रम बाठा मगर जाने छन्। खेलाडी वीरेन्द्र कुँवर, देवेन्द्र सुनार र कैलाश अयार्यले प्रतियोगितामा भाग लिने छन्। 

प्रकाशित: १३ फाल्गुन २०८० १९:२९ आइतबार

अन्तर्राष्ट्रिय आइटिएफ तेक्वान्दो प्रतियोगिता