चौंथो जिल्ला स्तरीय महिला र पुरुष डोरी तान प्रतियोगिताको उपाधि विजयनगर गाउँपालिकाले जितेको छ।
वाणगंगा बुद्धरंगशालामा आयोजित महिला र पुरुष दुवै समूहको डोरी तान प्रतियोगितामा विजयनगर गाउँपालिका प्रथम भएको हो।
पुरुष तर्फको डोरी तान प्रतियोगिताको द्वितीय बुद्धभूमि नगरपालिका र तृतीय स्थानमा वाणगंगा नगरपालिका र यशोधरा गाउँपालिका रहेका छन्। त्यस्तै महिला तर्फको डोरी तान प्रतियोगितामा विजयनगर गाउँपालिका नै प्रथम भएको छ। द्वितीय स्थान वाणगंगा नगरपालिका र तृतीय स्थानमा बुद्धभूमि नगरपालिका, शुद्धोधन गाउँपालिका रहेका छन्।
प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः नगद १५ हजार, १२ हजार र १० हजार तथा शिल्ड प्रमाण पत्र रहेको छ। महिला तर्फ ५ सय केजी तौल समूह र पुरुष तर्फ ६ सय केजी तौल समूहबिच प्रतिस्पर्धा भएको डोरी तान जिल्ला संघका अध्यक्ष खोप बहादुर थापाले बताए। त्यस्तै गरी बाणगगा अन्तर विद्यालय नगर स्तरीय डोरी तान प्रतियोगिता तर्फ महेन्द्र मावि. कोपवा प्रथम भएको छ भने तृतीय वाणगंगा मावि.लगाई भएको छ। उपविजेता गोल्डेन होराईजन ईंग्लिश बोर्डिङ स्कुल गजेहडाको विषयमा विवाद भएपछि आयोजक संस्थाले उक्त उपाधि घोषणा गरेन।
होराइजन ईंग्लिश बोर्डिङ स्कुल सिद्धिपुरले नियम विपरीत खेल खेलेको भन्दै उजुरी गरेपछि आयोजकले रोकेको थियो। लुम्बिनी प्रदेश सदस्य विष्णु पन्थीले विजयी टोलीलाई मेडल र कप प्रदान गर्दै खेलकुदको माध्यमबाट युवाहरूको चौतर्फी विकाससँगै स्थानीय सरकारले खेलकुद क्षेत्रमा आफ्नो पहिचान बनाउन सहयोग पुग्ने बताए। कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्य, वाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्याल, नगर उपप्रमुख रिता कुमारी चौधरीले मन्तव्य दिएका थिए। यस अघिका प्रतियोगितामा वाणगंगा नगरपालिकाले लगातार जित्दै आएको थियो।
प्रकाशित: ११ फाल्गुन २०८० १९:५० शुक्रबार