खेल

तिलोत्तमा गोल्डकप : नेपाल पुलिस र रूपन्देही ११ भिड्दै

भैरहवा – रूपन्देहीमा जारी २० औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगितामा बुधबार (आज) को पहिलो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लब र आयोजक लालि रूपन्देही ११ बीच प्रतिस्पर्धा हुँदैछ।

खेल बुटवलको देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा दिउँसो ३ बजेपछि सुरू हुनेछ।

क्वाटरफाइलमा नवलपरासी ११ लाई ३–१ ले स्तब्ध पार्दै आयोजक रूपदेही ११ र सशस्त्र प्रहरी बलको एफिएफलाई १–० ले पाखा नेपाल पुलिस क्लब प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका हुन्। नेपाल पुलिसले यो वर्ष ३ वटा नकआउट फुटबलको उपाधि उचालिसकेको छ भने रूपन्देहीले उपाधिविहीन छ।

पछिल्लो पटक यी दुई टोलीबीच झापामा भएको तेस्रो झापा गोल्डकपमा भेट भएको थियो जसमा पुलिसले रूपदेहीलाई १–० ले पराजित गर्दै अघिल्लो चरणको यात्रा तय गरेको थियो।

यसअघि मंगलबार भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–० ले हराउँदै मनाङ मर्स्याङ्दी क्लब प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

चैत्त ३ गतेसम्म चल्ने गोल्डकपमा ‘ए’ डिभिजनका ७ सहित १० टोली सहभागी छन्। प्रतियोगिताका विजेता टोलीले ७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ पुरस्कार पाउनेछ। उपविजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैयाँ प्राप्त गर्नेछ।

प्रकाशित: ३० फाल्गुन २०७४ ०५:१७ बुधबार