खेल

नेपाल–ए को पहिलो जित, क्यानडा–११ दुई विकेटले पराजित

नेपाल क्रिकेट संघ (क्यान) ले यसपटक निर्माण गरेर मैदानमा उतारेको नेपाल–ए टिमले आफ्नो पहिलो जित निकालेको छ।

नेपालको ‘ए’ टिमले क्यानडा–११ विरुद्ध दोस्रो एक दिवसीय खेलमा दुई विकेटले जित निकाल्दै पहिलो जित निकालेको हो।

यसअघि आइतबार नेपाल–ए टिम पहिलोपल्ट क्यानडा–११ सँग भिडेको थियो। जसमा चार विकेटले पराजित भएको थियो।

नेपालको जितमा कप्तानी गरिरहेका सन्दीप जोरा (६६ रन) र बासिर अहमद (५१) ले अर्धशतक प्रहार गरे। रसिद खानले ४७ रन, ओपनर अर्जुन कुमालले ४० रनको महत्त्वपूर्ण पारी खेले। क्यानडाका तर्फबाट अमर खालिद, शाहिद अहमदजाई र निखिल दत्ताले २/२ विकेट लिए।

मुलपानी क्रिकेट मैदानमा बिहान नेपालका तर्फबाट कप्तानी गरिरहेका सन्दीप जोराले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेका थिए। जसमा क्यानडेली टोलीले ४९।५ बलमा अलआउट हुँदै २४० रन जोडेको थियो।  

जसमा मोभ्वाले ८२ बल खेल्दै ६८ रन जोड्दा नवनीत धलिवालले ६० बलमा ४६ रन, श्रीमन्थ विजयरत्नेले ५७ बलमा ४१ रन, आरोन जोनसनले ३८ बलमा ३६ रनको योगदान दिएका थिए।

नेपाल ‘ए’का तर्फबाट शादब आलमले १० ओभरमा ३८ रन खर्चिदै ३ विकेट, शेर मल्ले १० ओभरमा ३९ रन खर्चिदै २ विकेट, रसिद खानले ५।५ ओभर बलिङ गर्दै ३४ रन खर्चिएर २ विकेट, बासिर अहमद र सागर ढकालले १/१ विकेट लिए। 

२४१ रनको लक्ष्य पछ्याएको नेपाली टोलीले ४९।१ ओभरमा ८ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो। नेपालको यो जितसँगै तीन खेलको सिरिज १–१ को बराबरी भएको छ। अन्तिम खेल पर्सी बिहीबार हुनेछ।

प्रकाशित: ८ फाल्गुन २०८० १६:५८ मंगलबार

नेपाल–ए टिम