खेल

जुडो खेलाडी पुनमको उपचार खर्च निकासा

जुडो खेलाडी पुनम श्रेष्ठले माग गरेको उपचार खर्च राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रक्रिया पूरा भएको ४८ घण्टामा निकासा गरिदिएको छ।

उनी चीनको हाङझावमा सम्पन्न १९औं एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्ने क्रममा घाइते भएकी थिइन्। एसियाली खेलकुदमा खेल्ने क्रममा उनको दायाँ खुट्टाको घुँडामा चोट लागेको थियो। उनको घुँडाको एसिएल टियर शल्यक्रिया भइसकेको छ। सोही उपचारका लागि राखेपले रकम निकासा गरिदिएको जनाएको छ।

पुनमले गत माघ चार गते उपचार खर्च निकासा गरिदिन निवेदन दिएकी थिइन्। राखेपका अनुसार त्यसबाहेक पुनमले अन्य कागजात समावेश गराएकी थिइनन्। आर्थिक नियमावली अनुसार ठाडो निवेदनका आधारमा भुक्तानी दिन नमिल्ने भएकोले नेपाल जुडो संघमार्फत प्रक्रिया पूरा गर्न पहल गरिएको राखेपले जनाएको छ।

उपचारको बिल प्राप्त भएपछि फागुन १ गते प्रक्रिया पूरा भएको र त्यसको २४ घण्टापछि रकम निकासा गरिदिएको राखेपले जनाएको छ। फागुन २ गते नै पुनमलाई उपचार खर्चबापत एक लाख ४७ हजार ५९ रूपैयाँ उपलब्ध गराएको राखेपले उल्लेख गरेको छ।

राखेपले खेलाडीको उपचारमा गम्भीर रहेको पनि स्पष्ट पारेको छ। आफ्नै अनुदानमा स्थापित राष्ट्रिय खेलाडी कल्याणकारी कोषमार्फत पनि पूर्व र वर्तमान खेलाडीलाई उपचार सहयोग प्रदान गर्दै आएको प्रसंग पनि राखेपले उल्लेख गरेको छ।

राखेपकै अग्रसरतामा खेलाडीकै हितलाई ध्यानमा राखी नेपालमै पहिलोपटक खेलकुद बिमालेख जारी भइसकेको छ।

प्रकाशित: ५ फाल्गुन २०८० १२:०८ शनिबार

राष्ट्रिय खेलकुद परिषद् (राखेप) नेपालमै पहिलोपटक खेलकुद बिमालेख जारी