खेल

नेपाल सुरुदेखिनै दबाबमा, ३ विकेट गुमायो

आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक ओडिआई सिरिजअन्तर्गत पहिलो खेलमा नेपाललाई तेस्रो झट्का लागिसकेको छ। नेपालका ब्याट्सम्यान कुशल भुर्तेल, अनिलकुमार साह र आसिफ शेख आउट भइसकेका छन्। भुर्तेल र साह क्याच आउट भएका हुन भने अनिल एलबीडब्लु भए। छ ओभर सकिदा नेपाल तीन विकेट गुमाएर १६ रनमा सीमित छ।

नामिबियाका कप्तान जेराल्ड इरास्मसले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएपछि नेपालले ब्याटिङ गरिरहेको छ। खेल अहिले साढे ९ बजेबाट कीर्तिपुर मैदानमा भइरहेको छ।

यस्तो छ नेपाली टोली -

रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, अनिलकुमार शाह, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सूर्य तामाङ र देव खनाल।

यस्तो छ नामिबियाको टोली -

जेरार्ड एरास्मस (कप्तान), जेन ग्रिन (विकेटकिपर), जेजे स्मिथ (उपकप्तान), माइकल भान लिंगेन, निकोल लोफ्टि इटन, सन फौसी, बेन शिकोंगो, जान फ्रिलिंक, रुबेन ट्रम्पलम्यान, निको डाभीन, टांगेनी लुंगामेनी, ज्याक ब्रेसल, बर्नार्ड स्कोल्ज, जेपी कोट्जे र मलान क्रुगर।

विश्वकप लिग–२ मा नेपालसहित ८ देश सहभागी छन्। पहिलो श्रृंखलाअन्तर्गत नेपाल, नामिबिया र नेदरल्यान्ड बिच प्रतिस्पर्धा हुन लागेको हो। यसअघि विश्वकप लिग–२ कै अर्को टिम क्यानडासँग नेपालले ३ वटा मैत्रीपूर्ण खेल खेल्यो र जित हात पार्‍यो। क्यानडा यही लिगको नवप्रवेशी राष्ट्र हो।

नेपाल र क्यानडाले आइसिसी विश्वकप लिग–२ ९२०२३–०२७० को यात्राको तयारीका लागि एक अर्कालाई योग्य टोली ठानेका थिए। किनकि यही माध्यमबाट नेपालले गत वर्ष जिम्बाब्वेमा विश्वकप छनोट खेलेको हो।

गत संस्करणको लिग–२ मा पछिल्ला १२ खेलमा अविजित रहँदै नेपाल तेस्रो बन्यो र विश्वकप छनोट खेल्यो।

त्यसैले पनि नेपालका पूर्व प्रशिक्षक तथा क्यानडाका प्रशिक्षक पुबुदु दासानायकेले तयारीका लागि नेपाल रोजेका हुन्।

पछिल्लो समय उत्कृष्ट नतिजा दिएको क्यानडा पनि नेपालका लागि योग्य बन्यो। क्यानडाले गत विश्वकप छनोटको प्लेअफमा चौथो स्थानमा रहँदै आइसिसी विश्वकप लिग–२ ९२०२३–०२७० मा स्थान बनाएको हो।

यस क्रममा क्यानडाले अमेरिका र पपुवा न्यूगिनीजस्ता बलिया टोलविरुद्ध सनसनीपूर्ण जित निकालेको थियो। यस पटक लिग–२ को साइकलमा नवप्रवेशी क्यानडा र नामिबियासहित कुल आठ राष्ट्र छन्।

नेपालले आज नामिबियासँग नै यो साइकलको सुरुआत गर्दै छ। नेपालले घरेलु मैदानमा नामिबिया र नेदरल्यान्ड्ससँग त्रिदेशीय शृंखला सुरु गर्दै छ।

विश्वकप लिग–२ मा नेपालसहित ८ वटा देश परेका छन्। नेपालसहित नेदरल्यान्ड्स, स्कटल्यान्ड, ओमान, युएई, क्यानडा र अमेरिका लिग–२ मा छन्। यीमध्ये नेपाल, नेदरल्यान्ड्स र नामिबियाको पहिलो श्रृंखला बिहीबारबाट सुरु हुन लागेको हो।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का ८ टिमले प्रतिस्पर्धा गर्ने लिग २ का शीर्ष ४ टोलीले सिधै विश्वकप छनोट खेल खेल्न पाउनेछन्।

यी टोलीबीच २४ वटा त्रिकोणात्मक एक दिवसीय श्रृंखला हुनेछन्। एउटा टोलीले प्रत्येकसँग २/२ वटा खेल खेल्ने छन्। लिग–२ मा मात्र कुल १४४ वटा खेल हुने आइसिसीले जनाएको छ।

प्रकाशित: ३ फाल्गुन २०८० १०:०२ बिहीबार

आईसीसी क्रिकेट विश्वकप लिग–२ नेपालका ब्याट्सम्यान कुशल भुर्तेल