खेल

लिग-२ साइकलमा प्रशिक्षक मोन्टीका लागि ‘बहु विकल्प’

पाहुना टोली क्यानडासँग सोमबार एकदिवसीय शृंखला क्लिन स्विप गरेको दिन नेपालसँगै ब्याटरद्वय अनिल साह र भीम सार्कीका लागि पनि विशेष रह्यो।

आइसिसी विश्वकप लिग–२ को तयारीस्वरूप नेपालले यो शृंखला खेलेको हो। तीन खेलको शृंखला क्लिन स्विप गर्दै नेपालले उच्च आत्मबलका साथ लिग–२ को तीन वर्र्षे साइकल सुरु गर्दै छ।

दुई वर्षपछि राष्ट्रिय टोलीमा फर्किएका अनिलसँगै भीमले सोमबार शतक बनाए।  पछिल्ला समय लयमा नदेखिएका भीम पनि सोमबार धैर्यपूर्वक ब्याटिङ गर्दै नेपालका प्रशिक्षक मोन्टी देसाईको विश्वासमा खरो उत्रिए।

क्यानडा यही साइकलको नवप्रवेशी राष्ट्र हो। नेपाल र क्यानडाले आइसिसी विश्वकप लिग–२ (२०२३–०२७) को यात्राको तयारीका लागि एकअर्कालाई योग्य टोली ठानेका थिए।

किनकि यही माध्यमबाट नेपालले गत वर्ष जिम्बाब्वेमा विश्वकप छनोट खेलेको हो। गत संस्करणको लिग–२ मा पछिल्ला १२ खेलमा अविजित रहँदै नेपाल तेस्रो बन्यो र विश्वकप छनोट खेल्यो।

त्यसैले पनि पूर्वप्रशिक्षक पुबुदु दासानायकेले तयारीका लागि नेपाल रोजे। पछिल्ला समय उत्कृष्ट नतिजा दिएको क्यानडा पनि नेपालका लागि योग्य बन्यो। क्यानडाले गत विश्वकप छनोटको प्लेअफमा चौथो स्थानमा रहँदै आइसिसी विश्वकप लिग–२ (२०२३–०२७) मा स्थान बनाएको हो।

यस क्रममा क्यानडाले अमेरिका र पपुवा न्युगिनीजस्ता बलिया टोलविरुद्ध सनसनीपूर्ण जित निकालेको थियो। यस पटक लिग–२ को साइकलमा नवप्रवेशी क्यानडा र नामिबियासहित कुल आठ राष्ट्र छन्।

आगामी बिहीबार नेपालले नामिबियासँग नै यो साइकलको सुरुआत गर्दै छ। नेपालले घरेलु मैदानमा नामिबिया र नेदरल्यान्ड्ससँग त्रिदेशीय शृंखला सुरु गर्दै छ।

त्यसअगाडि नेपाली क्रिकेट टोलीका प्रशिक्षक मोन्टीले अनुभवी खेलाडी दीपेन्द्रसिंह ऐरी र करण केसीसँगै युवा बलर गुल्सन झा र ब्याटर अर्जुन साउदलाई बाहिर राख्दै क्यानडाविरुद्ध केही खेलाडी प्रयोग गरे।

मोन्टीले केही हप्ताअगाडि मात्र यु–१९ विश्वकप खेलेका कप्तान देव खनाल र आकाश चन्दसहित हेमन्त धामीलाई पनि शृंखलामा प्रयोग गरेका हुन्।

साथै प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका पवन सर्राफ र अनिल साहले पनि यो शृंखला अवसर पाए। प्रशिक्षक मोन्टीले यी सबैलाई पालैपालो अवसर दिए। उनको अपेक्षाअनुरूप क्यानडाविरुद्ध सबैले राम्रो प्रदर्शन गरे।

यिनीहरूकै प्रदर्शन प्रेरणामा नेपालले लिग–२ कै प्रतिद्वन्द्वी क्यानडाविरुद्ध शृंखला ३–० ले क्लिन स्विप ग¥यो। सर्राफबाहेक यी चारै जना बिहीबारदेखि सुरु हुने शृंखलाका लागि नेपाली टोलीमा भने छैनन्। देव र अनिल रिजर्भ छन्।

अनिलले क्यानडासँग दुई खेलमा अवसर पाए, जहाँ उनको ब्याटिङ उत्कृष्ट रह्यो। दोस्रो खेलमा अनिलले १९ बलमै अर्धशतक बनाउँदै पुनरागमन यादगार बनाए। अनिलको प्रदर्शन त्यतिमा नै सीमित भएन।

सोमबार तेस्रो खेलमा पनि ओपनर अनिलले अविजित ११२ रनको शतकीय इनिङ खेल्दै जित दिलाए। यस क्रममा उनले १२ चौका र दुई छक्का प्रहार गर्दै ९० को स्ट्राइक रेटमा ब्याटिङ गरेका छन्। यो प्रदर्शनले उनलाई राष्ट्रिय टोलीको बलियो दाबेदारका रूपमा उभ्याएको छ।

सन् २०१८ मै नेदरल्यान्ड्सविरुद्ध डेब्यु गरेका अनिल यसबीच नेपालबाट ६ खेल मात्र खेलेका छन्। तर, यी दुईबाहेक उनको प्रदर्शन यादगार भने छैन। यद्यपि, लामो समयपछि फर्किएका अनिल छुट्टै अन्दाजमा निडरतापूर्वक ब्याटिङ गरिरहेका छन्। त्यसैले प्रशिक्षक मोन्टीका लागि ओपनिङमा उनी राम्रो विकल्प हुन सक्छन्। उनीसँगै भीम सार्की पनि सोमबार मोन्टीको भरोसामाथि खरो उत्रिए।

 सोमबार त्रिवि क्रिकेट मैदानमा क्यानडाले दुई सय ३३ रनको मध्यम लक्ष्य दिएको थियो। अनिल र भीमको कीर्तिमानी १८९ रनको साझेदारीमा नेपालले पाएको लक्ष्य ४४.४ ओभरमा नै मात्र एक विकेट गुमाएर पूरा ग¥यो। यो नेपालका लागि अहिलेसम्मकै ठूलो सााझेदारी हो।

यस क्रममा भीमले पनि १०१ रनको शतकीय साझेदारी गरे। भीम बिहीबारदेखि सुरु हुने शृंखलामा छन्। पिएम कपमा खासै राम्रो प्रदर्शन गर्न नसके पनि उनी मोन्टीका रोजाइमा परेका थिए।

यस शृंखलामा मोन्टीले आकाश चन्द, सूर्य तामाङ, रिजन ढकाल र हेमन्त धामीलाई डेब्यु गराएका थिए। आकाश र हेमन्तले समान तीन विकेट लिँदा रिजन र सूर्यले भने एक विकेट मात्र लिन सके।

हेमन्तले सोमबार डेब्यु खेलमा नै तीन विकेट लिँदै प्रभावशाली प्रदर्शनसहित आफ्नो छाप छाडेका छन्। नेपालले भरपर्दा स्पिनर सन्दीप लामिछानेबिना नै अबको यात्रा सुरु गर्दै छ। बलात्कारको मुद्दामा अदालतको दोषी ठहरपछि उनी निलम्बित छन्। प्रशिक्षक मोन्टी उनको विकल्पको खोजीमा छन्।

तर, सन्दीपको अनुपस्थितिमा कप्तान रोहितकुमार पौडेलले स्पिनबाट टोलीलाई राम्रो साथ दिने संकेत देखाए। नेपालले क्यानडाविरुद्ध शृंखला क्लिन स्विप गर्दा रोहित प्लेयर अफ दी सिरिज हुन्।

पहिलो दुई खेल जित्दै उनी म्यान अफ दी म्याच पनि रहे। पहिलो खेलमा चार विकेट लिएका रोहितले दोस्रो खेलमा दुई विकेटसँगै ८७ रनको योगदान गरे। तेस्रो खेलमा उनी बलिङमा आएनन् भने ब्याटिङ गर्न आवश्यक नै परेन। तथापि, उनले शृंखलामा राम्रो कप्तानीसँगै बलिङबाट नयाँ जिम्मेवारी लिए।

पछिल्लो समय अलराउन्डर गुल्सन झाको प्रदर्शन खस्किरहँदा मोन्टीका लागि विकल्पका रूपमा पवन सर्राफ देखिएका छन्। नियमित खेलाडी घाइते या अनुपस्थित रहँदा यो शृंखलाबाट मोन्टीले केही राम्रा विकल्पहरू पाए। जुन प्रशिक्षक मोन्टीका लागि आगामी विश्वकप लिग–२ को साइकलका लागि ब्याकअप बन्न सक्नेछन्। 

प्रकाशित: १ फाल्गुन २०८० ०८:२७ मंगलबार

पाहुना टोली क्यानडा एकदिवसीय शृंखला क्लिन स्विप