खेल

केनको चोटमा टोटेनह्यामलाई पीडा

लन्डन – स्ट्राइकर ह्यारी केन कूर्कुच्चाको चोटका कारण पहिलो हाफमै मैदानबाट बाहिरिए पनि सन ह्युङ–मिनको दुई गोलप्रेरित टोटेनह्यामले आइतबार बर्नमाउथमाथि ४–१ को सहज विजय हासिल गरेको छ।

यस जितपछि टोटेनह्याम लिभरपुललाई पछि पार्दै इङलिस प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिए पनि केनको चोट क्लब र इङल्यान्ड राष्ट्रिय टोलीका लागि चिन्ताको विषय बनेको छ। इङल्यान्डका प्रशिक्षक गारेथ साउथगेटले बिहीबार यसै महिनाका लागि नेदरल्यान्ड्स र इटालीविरुद्ध हुने तय भएका दुई मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टोलीको घोषणा गर्ने तयारी गरेका थिए ।

१०औं मिनेटमा जुनियर स्टानिस्लसले एडम स्मिथको पासमा गरेको गोलमा बर्नमाउथले अग्रता लिएको थियो । मध्यानतर हुन ११ मिनेट बाँकी हुँदा केन कुर्कुच्चाको चोटका कारण मैदनबाट बाहिरिदा १–० ले पछि परेको टोटेनह्याम दबाबमा थियो । केनको स्थानमा एरिक लामेला मैदान प्रवेश गरेका थिए । केन बाहिरिएको एक मिनेटपछि नै डेले अलीले गोल गर्दै टोटेनह्यामलाई खेलमा फर्काए । अलीले सेर्गी औरियरको पासलाई पोस्टको दिशा दिएका थिए।

६२औं मिनेटमा सनले अलीको पासमा गोल गरेर टोटेनह्यामलाई अग्रता दिलाए । खेल सकिन ३ मिनेट बाँकी हुँदा क्रिस्टियन इरिक्सनको पासमा सनले व्यक्तिगत दोस्रो गोल गर्दै टोटेनह्यामको अग्रता ३–१ मा पु¥याएका थिए । जारी सिजनमा उनको यो १८औं गोल हो । इन्जुरी समयको पहिलो मिनेटमा सेर्गी औरियरले बर्नमाउथका रक्षक आस्मिर बेजोभिचले राम्रोसँग क्लियर गर्न नसकेको बलमा गोल गर्दै टोटेनह्यामको सहज जित पक्का गरेका थिए।

यस जितपछि ३० खेलमा ६१ अंक जोडेको टोटेनह्याम तेस्रो स्थानमा उक्लियो । जुन दोस्रो स्थानको म्यानचेस्टर युनाइटेड भन्दा ४ अंक कम र तेस्रो स्थानको लिभरपुल भन्दा १ अक बढी हो । एक खेल कम खेल्दै शीर्ष स्थानमा बसेको सिटीको ७८ अंक छ । समान खेल खेलेका चेल्सी ५६ र आर्सनल ४८ अंकका साथ क्रमशः पाँचौं र छैटौं स्थानमा छन्।

इङलिस प्रिमियर लिगअन्तर्गत आइतबारै सम्पन्न खेलमा आर्सनलले वाट्फोर्डलाई ३–० को नतिजामा पराजित ग¥यो । घरेलु इमिरेटस् रंगशालामा आठाैं मिनेटमा स्कोर्डान मुस्ताफीको गोलमा अग्रता लिएको आर्सनलका लागि पिरे इमेरिक औबामेयाङले ६२ तथा समय सकिन १३ मिनेट बाँकी हुँदा हेनरिक एमखिटार्यनले गोल थपेका थिए।

‘हामी पछिल्लो समय खराब लयबाट गुज्रिरहेका थियौं । हाम्रा समर्थक पनि चिन्तित थिए,’ आर्सनलका प्रशिक्षक आर्सेन वेंगरले भने, ‘तर आज हामीले समर्थकको निराशा केही मात्रमा भए पनि कम गर्ने प्रयास गरेका छौं । आशा छ, यो लय आगामी खेलमा पनि कायम हुनेछ।’

प्रकाशित: २९ फाल्गुन २०७४ ०४:१६ मंगलबार