खेल

चैत ३ गते गोर्खा ट्रेल ब्लेजर रन हुने

पुर्खा दिवसको अवसरमा आगामी चैत ३ गते दोस्रो गोर्खा ट्रेल ब्लेजर रन तथा सम्मान कार्यक्रम आयोजना हुने भएको छ।

गोर्खा सेमेट्रीज ट्रष्टको आयोजनामा उक्त रन तथा सम्मान कार्यक्रम हुने मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो।

चैत ३ गते शनिबार धरान १८ स्थित रत्न चौकदेखि धरान २० माछामारास्थित गोर्खा स्मृति पार्कसम्म ८.५ किलोमीटर दौड हुनेछ भने विश्व युद्ध लडेका जिवित योद्धाहरुलाई सम्मान गरिने आयोजक ट्रष्टका अध्यक्ष महेन्द्र राईले जानकारी दिए।

दौड प्रतियोगितामा करिब ५ सय जनाले सहभागीता जनाउने आयोजकको भनाइ छ। सहभागीहरुका लागि फर्म शुल्क ३ सय ५० रुपैयाँ तोकिएको छ। प्रतियोगिताको महिला र पुरुष विजेता, उपविजेताले जनही नगद १५ हजार, १० हजार र ५ हजार, मेडल र प्रमाणपत्र प्रदान गरिने राईले जानकारी दिए। सहभागीहरुलाई टिसर्ट, मेडल, प्रमाणपत्र पनि दिइनेछ।

कार्यक्रममा झापाका १०३ बर्षका डम्बरध्वज राई, भोजपुरका १०१ बर्षका इन्द्रबहादुर राई, तेह्रथुमका बमबहादुर निङ्लेखुङ लिन्बु र खोटाङ जन्तेढुङ्गाका ९९ वर्षका डम्बरसिंह सुप्तिहाङ राईलाई सम्मान गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा धरान १८ वडा कार्यालयको सहकार्य रहनेछ।

प्रकाशित: २३ माघ २०८० १०:५० मंगलबार

पुर्खा दिवस दोस्रो गोर्खा ट्रेल ब्लेजर रन सम्मान कार्यक्रम गोर्खा स्मृति पार्क महेन्द्र राई दौड प्रतियोगिता गोर्खा सेमेट्रीज ट्रष्ट