खेल

एनएसजेएफ अवार्डमा ई-ड्राइभ नेपाल

२०औं एनएसजेएफ पल्सर स्पोटर्स अवार्डका लागि मोबिलिटी पार्टनरको रूपमा राइड सेयरिङ एप ई–ड्राइभ नेपाल आयोजक नेपाल खेलकुद पत्रकार मञ्चसँग आबद्ध भएको छ। यही माघ २८ गते होटल याक एन्ड यतीमा आयोजना हुने पल्सर स्पोर्टस अवार्डका लागि ई–ड्राइभ नेपाल र नेपाल खेलकुद पत्रकार मञ्चबीच सहप्रायोजनसम्बन्धी सम्झौता भएको छ। सम्झौतापत्रमा नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) का अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) र ई–ड्राइभ नेपालका अध्यक्ष राजेश मास्केले हस्ताक्षर गरेका छन्।

नेपालमा भर्खरै विद्युतीय ट्याक्सीको अवधारणा भित्रयाउने ई–ड्राइभ नेपाल प्रतिष्ठित पल्सर स्पोर्ट्स अवार्डसँग जोडिन पाउँदा अत्यन्तै हर्षित भएको बताउँदै ई–ड्राइभका अध्यक्ष मास्केले आगामी दिन यो सहकार्यलाई थप मजबुत बनाउने बताए।

मञ्चका अध्यक्ष सुवेदीले स्पोर्ट्स अवार्डको दायरा फराकिलो पार्ने क्रममा यस वर्ष फरक फरक क्षेत्रसँग सहकार्य गरिएको बताउँदै ई–ड्राइभसँगको सम्झौताले सवारी प्रदूषणबाट आक्रान्त स्थितिमा वातावरण सचेतनामा केही योगदान पुग्ने विश्वास व्यक्त गरे।

नौ विधामा प्रदान गरिने पल्सर स्पोर्ट्स अवार्डको पिपल्स चोइस विधाको मनोनयन सार्वजनिक भइसकेको छ। पिपल्स चोइसमा फुटबलका अनन्त तामाङ, करातेका विप्लवलाल श्रेष्ठ, भलिबलकी निरुता ठगुन्ना, टेबल टेनिसकी सिक्का सुवाल श्रेष्ठ र शारीरिक सुगठनकी रजनी श्रेष्ठ मनोनयनमा परेका छन्। 

प्रकाशित: १९ माघ २०८० ०७:४७ शुक्रबार

२०औं एनएसजेएफ पल्सर स्पोटर्स अवार्ड मोबिलिटी पार्टनर