खेल

शुक्रले गरे इस्टर्न ओपनको रक्षा

पुरस्कार ग्रहण गर्दै उपाधि विजेता शुक्रबहादुर राई। तस्बिर: नागरिक

नेपालका नम्बर एक गल्फर शुक्रबहादुर राईले सूर्य नेपाल इस्टर्न ओपनको उपाधि रक्षा गरेका छन्।

सूर्य नेपाल इस्टर्न ओपन सूर्य नेपाल गल्फ टुर २०२३–२४ को तेस्रो प्रतियोगिता हो। यहाँ शुक्रले धरानकै प्रोफेसनल गल्फर नीरज तामाङमाथि पाँच स्ट्रोकको फराकिलो अन्तरले जित निकाल्दै उपाधि रक्षा गरे।

शुक्रबार अन्तिम दिन शुक्रले एक अन्डर ६९ प्रदर्शन गरे। यससँगै समग्रमा उनी तीन अन्डर २ सय ७ को स्कोरमा रहे। शुक्रको करियरको यो दशौं प्रमुख उपाधि हो। उनले उपाधिसँगै नगद एक लाख ४० हजार रूपैयाँ प्राप्त गरे। दशौं उपाधि जित्दै शुक्रले भेट्रान प्रो गल्फर दीपक थापामगर र पूर्वनम्बर एक गल्फर दीपक आचार्यसँग उपाधिसंख्या बराबरी गरेका छन्।

नीरज अन्तिम १८ होलको सुरूआत गर्दा मात्र एक स्ट्रोकले पछि थिए। तर, पनि उनले शुक्रलाई चुनौती दिन सकेनन्। नीरजले तीन ओभर ७३ को खराब प्रदर्शन गरे। त्यससँगै उनी समग्रमा दुई ओभर २१२ को नतिजाका साथ दोस्रो स्थानमा खुम्चिए।

उनले ९६ हजार नगद हात पारे। पूर्वनम्बर एक गल्फर भुवन नगरकोटी समग्रमा तीन ओभर २१३ सहित तेस्रो भए। उनले अन्तिम दिन एक ओभर ७१ मा खेल सकाए। उनले ७२ हजार प्राप्त गरे। समग्रमा सात ओभर २१७ को स्कोरमा राजेन राई, भुवनकुमार रोक्का र रामे मगरले संयुक्त रूपमा चौथो स्थान बाँडे।

राजेन र भुवनले शुक्रबार तीन ओभर ७३ मा खेल सकाउँदा रामेले एक ओभर ७१ मा खेले। उनीहरूले जनही ५० हजार ५ सय नगद पुरस्कार पाए। समग्रमा ९ ओभर २ सय १९ को स्कोरमा‌ रवि खड्का सातौं हुँदा ३९ हजार नगद हात पारे। उनले शुक्रबार पाँच ओभर ७५ मा खेल सकाए।

 समग्रमा १० ओभर २ सय २० को नतिजा निकालेका सञ्जय लामा र सूर्यप्रसाद शर्मा संयुक्त रूपमा आठौं स्थानमा रहे। उनीहरूले जनही ३४ हजार २ सय ५० नगद प्राप्त गरे।

एमेच्योरतर्फ गजेन्द्र गुरुङ काउन्ट ब्याकको आधारमा उपाधि जित्न सफल भए। उनी र युवराज भुजेलले समग्रमा आठ ओभर २१८ जोडेका थिए। शुक्रबार गजेन्द्रले तीन ओभर ७३‌ र युवराजले ६ ओभर ७६ को स्कोर गरे।

समग्रमा ११ ओभर २२१ सहित सुमन परियार र सुन्दर राईले संयुक्त रूपमा तेस्रो स्थान बाँडे। सुमनले शुक्रबार इभन–पार ७० मा खेल सकाउँदा सुन्दरले पाँच ओभर ७५ मा खेल पूरा गरे।

कुल ८ लाख ४० हजार नगद पुरस्कार राशि रहेको प्रतियोगितामा ३० प्रोफेसनल र १७ एमेच्योर गरी कुल ४७ गल्फरले प्रतिस्पर्धा गरेका थिए। विजेतालाई सूर्य नेपाल प्रालिका मार्केटिङ म्यानेजर केशव प्रधान, नेपाल गल्फ संघका उपाध्यक्ष तिलक राई, कोसी प्रदेश गल्फ संघका उपाध्यक्ष भरत तामाङ र धरान गल्फ क्लबका अध्यक्ष वीरेन्द्रविक्रम लिम्बुले पुरस्कार वितरण गरे। प्रतियोगिताको अन्तिम दिन शनिबार प्रो–एम प्रतियोगिता हुनेछ।  

प्रकाशित: १३ माघ २०८० ०१:३६ शनिबार

शुक्रले गरे इस्टर्न ओपनको रक्षा पाँच स्ट्रोकको फराकिलो अन्तर