बर्लिन – कोरिन्टिन टोलिसोको उत्कृष्ट गोल मद्दतमा बायर्न म्युनिखले फ्रेइबर्गलाई ४–० को नतिजामा पराजित गर्दै जर्मन बुन्डेसलिगाको शीर्ष स्थानमा अग्रता २० अंकले फराकिलो पारेको छ।
फ्रेइबर्गको मैदानमा २५औं मिनेटमा एलेक्जेन्डर सोचलोले आत्मघाती गोल उपहार दिएपछि बायर्नले अग्रता लिएको थियो । त्यसको तीन मिनेट नबित्दै टोलिसोले ३० यार्डबाट गोल गर्दै अग्रता दोब्बर पारे।
सान्ड्रो वाग्नरले ५५औं मिनेटमा थोमस मुलरको पासलाई गोलमा परिणत गरेपछि बायर्नको अग्रता ३–० ले फराकिलो बन्यो । समय सकिन २१ मिनेट बाँकी रहँदा मुलर आफैंले गोल गर्दै बायर्नको जित फराकिलो पारे । कर्नरबाट आएको बललाई मुलरले हेडमार्फत गोलमा परिणत गरेका थिए।
आइतबारै जर्मन बुन्डेसलिगा अंकतालिकाको पुछारमा रहेको कोलोग्नले भिएफबी स्टुटगार्टलाई ३–२ को नतिजा सुम्पियो । सुरुमा गोल गरे पनि त्यसलाई जोगाउन नसक्दा कोलोग्नले अगस्टयता पहिलो पटक पुछारबाट माथि उठ्ने मौका खेर फालेको थियो।
सातौं मिनेटमा क्लाउडियो पिजारोले गोल गर्दै घरेलु मैदानमा कोलोग्नलाई अग्रता दिलाएका थिए । युया ओसाकोले सबै विपक्षी रक्षक कटाएर दिएको पासमा उनले गोल गरेका थिए । तर मारियो गोमेजले पहिलो हाफको अन्तिम समयमा दुई गोल गर्दै स्टुटगार्टलाई खेलमा फर्काए । अन्तिम मिनेटमा इरिक थोमीको क्रसलाई गोलमा परिणत गर्दै खेल बराबरीमा ल्याएका जर्मनीका स्ट्राइकर गोमेजले इन्जुरी समयको दोस्रो मिनेटमा दोस्रो व्यक्तिगत गोल गरे । दोस्रो गोल पनि उनले थोमीकै क्रसमा गरेका थिए।
प्रकाशित: २२ फाल्गुन २०७४ ०३:५६ मंगलबार