खेल

सन्दिपले रचे अर्को इतिहास, क्यारेवियन प्रिमियर लिगमा अनुबन्धित

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका एक महत्वपूर्ण सदस्य सन्दिप लामिछाने क्रिकेट वेष्ट इण्डिजको आयोजनामा हुने क्यारेवियन प्रिमियर लिग (सीपीएल) मा अनुबन्धित भएका छन्।

बिहीबार राति इंग्ल्याण्डमा भएको अक्सनमा सन्दिपलाई सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सले ५ हजार  डलरमा खरिद गरेको हो।
इन्डियन प्रिमियर लिग क्रिकेट (आइपिएल) मा अनुबन्धित भएर चर्चामा आएका सन्दिप क्यारेवियन प्रिमियर लिगमा समेत खेल्ने भएपछि उनको चर्चा झन चुलिएको छ। १७ बर्षीय लेग स्पिनर सन्दिप क्यारेवियन लिग खेल्ने पहिलो नेपाली समेत भएका छन्। उनी यसअघि आइपिएल खेल्ने पहिलो नेपाली क्रिकेटर बनेका थिए।

फागुन ३ गते नामिवियामा सम्पन्न विश्व क्रिकेट लिग डिभिजन २ मा सर्वाधिक विकेट लिदै सन्दिप म्यान अफ द सिरिज भएका थिए।
सन्दिप अनुबन्धित बनेको सेन्ट किड्स एण्ड नेभिस प्याट्रियट्स क्लबमा वेष्ट इण्डिजका चर्चित ब्याट्सम्यान क्रिस गेलका साथै क्रिस मोरिस, बेन कटिङ स्यामुअल बद्री, मोहम्मद नाभीलगायतका खेलाडी छन्।

सीपीएलमा ६ फ्रेन्चाइजी टोलीको सहभागिता रहेको छ। प्रतियोगिता अगष्ट ८ देखि सेप्टेम्बर १६ सम्म क्यारेवियन शहरमा हुनेछ। सन्दिप अहिले विश्वकप क्रिकेटको छनोट खेल खेल्न राष्ट्रिय टोलीसँगै जिम्बाब्बेमा रहेका छन्।

 

प्रकाशित: १८ फाल्गुन २०७४ ०५:३६ शुक्रबार

सन्दिपले रचे इतिहास क्यारेवियन प्रिमियर लिगमा अनुबन्धित