खेल

अर्नवलाई अन्तर्राष्ट्रिय स्क्राबल उपाधि

नेपालका अर्नव पाण्डेले चौथो अन्तर्राष्ट्रिय स्क्राबल प्रतियोगिताको उपाधि शनिबार जितेका छन्।

स्क्राबल क्लबको आयोजना तथा ब्राइट फ्युचर माविको सहआयोजनामा सम्पन्न प्रतियोगिताको १५औं चरणको खेलमा अर्नवले २६४३ अंक जोडे। नैकापस्थित ब्राइट फ्युचर माविमा भएको प्रतियोगितामा रजत र कांस्य पनि नेपाली खेलाडीले नै जिते। रुविन श्रेष्ठ ९१२ अंकसाथ दोस्रो तथा विनिता बर्मा ६९९ अंकसाथ तेस्रो भए।

शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, ६ हजार र ४ हजार नगद पुरस्कार पाए। तीनदिने प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका र अमेरिकाका ३८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

साइड इभेन्टमा भने अमेरिकाका साम कान्तिमाथी पहिलो भए। उनले सात चरणको खेलमा १४८५ अंक जोडे। विजेतालाई बागमती प्रदेशका सांसद् केशव पोखरेल, ब्राइट फ्युचरका निर्देशक मोहनकुमार कार्की, ब्राइट फ्युचरका प्रिन्सिपल दयाराम थापा, नेपाल विद्यालय खेलकुद महासंघका अध्यक्ष प्रदीप जोशी र महासचिव राजकुमार कार्की र स्क्राबल क्लबका अध्यक्ष केशवप्रसाद पराजुलीलगायतले पुरस्कृत गरे।

प्रकाशित: ७ माघ २०८० ०१:३३ आइतबार

अर्नवलाई अन्तर्राष्ट्रिय स्क्राबल उपाधि नैकापस्थित ब्राइट फ्युचर मावि