खेल

सामाजिक अभियानका लागि स्क्वाट

काठमाडौं – बितेका सात दशकमा भएको समय परिवर्तनसँगै नेपाली राजनीतिमा पनि थुप्रै परिवर्तन भइसकेका छन् । राणाकालीन शासन व्यवस्थादेखि अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमा नेपाल प्रवेश गरेको छ । जति राजनीतिक परिवर्तन भए त्यही अनुपातमा नेपाली समाजले पनि आफूलाई परिमार्जन गर्दै लगेको छ।

‘घरको चुलाचौकामा अल्झेर बस्ने महिलाहरू बिस्तारै त्यस परिधि नाघेर बाहिर समाजमा खुल्न थालेका छन् । जागिर, व्यापार, मनोरञ्जन मात्र होइन खेलक्षेत्रमा पनि महिलाहरूको सहभागिता उल्लेख्य रूपमा बढिरहेको छ,’ नेपाली खेलकुदमा नौलो विधा स्क्वाटकी खेलाडी एलिना खड्का भन्छिन्, ‘हरेक खेलमा महिला–पुरुषको उत्तिकै सहभागिता हुन थालेको छ । फुटबल, क्रिकेट, एथलेटिक्स, मार्सल आर्टमात्र नभई भारोत्तोलनजस्ता बल प्रयोग हुने खेलमा पनि महिला सहभागिता उल्लेख्य छ।’

भारोत्तोलनजस्तै बल प्रयोग हुने अर्को खेल हो, स्क्वाट । आधिकारिक रूपमा यसले खेलको मान्यता नपाए पनि विगत ३ वर्षदेखि अन्तरक्लब महिला स्वाटको प्रतिस्पर्धात्मक प्रतियोगिता भइरहेका छन् । जसको सुरुआत गरेका थिए, ज्यास्मिन फिटनेस सेन्टरका निरोज लामाले । महिला सशक्तीकरणमा टेवा पु¥याउने उद्देश्यमा गरिएको प्रतियोगिताको तेस्रो संस्करण अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा फागुन २३ गतेबाट राजधानीमा हुने उनले जानकारी गराएका छन्।

‘महिला सशक्तीकरणका लागि के गर्न सकिन्छ भनेर सोचिरहेका थियौं । अन्तर्राष्ट्रिय महिला दिवसको दिन अन्य कार्यक्रमभन्दा फरक देखाउन सकिने यो प्रतियोगिता गर्न उचित हुन्छ भनेर हामीले स्क्वाट प्रतियोगिता सुरु गरेका हौं,’ लामाले भने, ‘हाम्रै घरमा पनि दिदीबहिनीहरू हुनुहुन्छ । उनीहरूलाई घरधन्दाबाट बाहिर ल्याउने लक्ष्यका साथ यो प्रतियोगिता आयोजना गर्ने सोच बनेको हो ।’

लामाका अनुसार स्क्वाट काँधमा भार राखेर उठबस गर्ने प्रतिस्पर्धा हो । यस खेल (व्यायाम) ले सम्पूर्ण शरीरलाई चालयमान बनाउँछ । अझै विशेषगरी कम्मरदेखि तलको भागमा बढी भार पर्छ । भारोत्तोलनमा स्न्याच र क्लिन एन्ड जर्क दुई स्पर्धामा प्रतिस्पर्धा हुन्छ । भारोत्तोलनजस्तै बल प्रयोग गरी भार उठाउने अन्य खेल हुन् स्क्वाट, डेडलिफ्ट र क्लिन्स । लामाले यीमध्ये स्क्वाट रोज्नुको कारण पनि महिला सशक्तीकरणसँगै जोडिएको छ।

‘स्क्वाट गर्दा हाम्रो सामाजिक उदेश्यको चर्चा राम्ररी हुने लाग्यो,’ उनले  थपे । २०१६ मा पहिलो पटक प्रतियोगिता गर्दा राजधानीका झन्डै ४५ जना महिलाले सहभागिता जनाएका थिए । गत वर्ष सम्पन्न दोस्रो संस्करणमा झन्डै ७० को हाराहारीमा महिला सहभागिता रह्यो।

यस पटक राजधानीबाहिरबाट पनि सहभागिता रहने यस प्रतियोगिता झन्डै १ सय २० जनाको हाराहरीमा सहभागिता रहने लामाको विश्वास छ।‘हामीले गत वर्षबाट सहभागीहरूलाई दुई समूहमा विभाजन गरेर प्रतिस्पर्धा गराउन थालेका छौं । ६० केजीमुनि र त्योभन्दा माथिका दुई तौलसमूहमा प्रतिस्पर्धा हुनेछ । पोखरा, चितवन र धरानबाट पनि महिलाहरूको सहभागिता रहनेछ,’ लामाले थपे, ‘छोटो समयमै यस खेलबारे धेरै चासो बढेको छ । जुन हिसाबले सहभागितामा उल्लेख्य वृद्धि भएको छ, नेपाली समाजमा त्यो ठूलो कुरा हो ।’

ज्यास्मिन फिटनेस सेन्टरबाट यो वर्ष प्रतिस्पर्धा गर्ने तयारीमा रहेकी एलिना खड्काले पनि पावर लिफ्टिङ खेलमा महिलाहरूको सहभागिता निकै कम देखिन्छ । तर, यो खेल हेरेपछि सबैलाई उत्साहित बनाउने उनको विश्वास छ । ‘हाम्रो जस्तो समाजमा महिलाले यस्तो खेल खेल्नु नै ठूलो हो । फिटनेस सेन्टरमा पनि पावर लिफ्टिङ गरेको बिरलै देखिन्छ,’ गत वर्ष पाँचौं स्थानमा चित्त बुझाएकी एलिनाले थपिन्, ‘जब हामी प्रत्यक्ष खेल हेर्छौं तब सबैलाई म पनि उचाल्न सक्छु भन्ने आत्मविश्वास पलाउँछ।’

प्रतियोगिताको पहिलो चरण (प्रि–जर्ज) फागुन २३ गते त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरस्थित ज्यास्मिन फिटनेस सेन्टरमा हुनेछ भने फाइनल चरण २४ गते झम्सीखेलस्थित हेरिटेज गार्डनलमा हुनेछ । पहिलो चरणमा खेलाडीहरूले निर्णायकले दिएको तौल उठाउनेछन् । फाइनल चरणमा प्रतियोगीले चाहेको तौल उठाउन सक्नेछन् । दुवै चरणमा सहभागी खेलाडीले तीन पटक अवसर प्राप्त गर्नेछन् ।

त्यसमध्ये क्वालिफायर चरणबाट अन्तिम चरण प्रवेश गर्नका कम्तीमा दुई पटक तौल उठाउनुपर्नेछ । फाइनल चरणमा जसले धेरै तौल उचाल्यो उसले जित्नेछ । निर्णायक मण्डलमा महेश महर्जन, रुजेश शाही, विमल महर्जन र विमल श्रेष्ठ छन् । दुवै विधाका विजेताले ५० हजार, उपविजेताले ३० हजार र तेस्रो हुनेले २० हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन्।

गत बर्ष ६० केजीभन्दा कम तौलसमूहकी विजेता निलुफर सिंह ठकुरीले महिलाहरूमा पनि बल हुन्छ भनेर प्रमाणित गर्न यस्ता प्रतियोगिताले सहयोग गर्ने बताइन् । ‘महिला पनि शक्तिशाली छन् । महिलामा पनि बल छ भनेर देखाउन यस्ता प्रतियोगिताले सहयोग गर्छ,’ चार वर्षदेखि निरन्तर फिटनेसमा काम गरेकी निलुफरले थपिन्, ‘मनोबल बढाउनका साथै आत्मरक्षाका लागि पनि महिलाहरुलाई यस्तो खेलले सहयोग गर्छ ।’‘हाम्रै घरमा पनि दिदीबहिनीहरू हुनुहुन्छ । उनीहरूलाई घरधन्दाबाट बाहिर ल्याउने लक्ष्यका साथ यो प्रतियोगिता आयोजना गर्ने सोच बनेको हो ।’

 

प्रकाशित: १६ फाल्गुन २०७४ ०२:४० बुधबार

सामाजिक अभियानका लागि स्क्वाट