खेल

पिपल्स च्वाइसमा तीन महिला खेलाडी

तीन महिला खेलाडी भलिबलकी निरुता ठगुन्ना, टेबल टेनिसकी सिक्का सुवाल श्रेष्ठ र शारीरिक सुगठनकी रजनी श्रेष्ठसहित पाँच जना एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्ड २०७९ अन्तर्गत पिपल्स च्वाइसको मनोनयनमा परेका छन्।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले हरेक वर्ष प्रदान गर्दै आएको अवार्डको पिपल्स च्वाइस विधामा तीन महिला खेलाडीसहित फुटबलका अनन्त तामाङ र करातेका विप्लवलाल श्रेष्ठ गरी पाँच जनाको मनोनयन सार्वजनिक गरेको हो। 

मञ्चले बुधबार एक कार्यक्रम आयोजना गर्दै २० औं संस्करणमा पिपल्स च्वाइस विधाका मनोनयन सार्वजनिक गरेको थियो। यस पटक आगामी माघ २८ गते पल्सर स्पोटर्स अवार्ड २०७९ हुँदै छ। यसअघि माघ १२ गते तय भए पनि प्राविधिक कारणले कार्यक्रम केही दिन सारिएको मञ्चले उल्लेख गरेको छ।

खेल क्षेत्रमा पाएका सफलता र लोकप्रियताको आधारमा यस विधामा खेलाडीलाई मनोनयन गरिने गरिन्छ। फुटबलका अनन्तले घरेलु फुटबलमा आफ्नो नेतृत्वमा लगातार सफलता दिलाएका छन्। 

यस क्रममा उनले आफ्नो कप्तानीमा चर्च ब्वाइज युनाइटेडलाई ‘ए डिभिजन लिगको डेब्यु सिजनमै च्याम्पियन बनाउनुका साथै यसै सिजनको नेपाल सुपर लिगमा ललितपुर सिटी एफसीलाई उपाधि पनि दिलाएका थिए। 

करातेका विप्लवलालले इन्डोनेसियाको जकार्तामा सम्पन्न विश्व सितोरियो कराते च्याम्पियनसिपमा रजत पदकका साथै चीनको हाङचाउमा सम्पन्न १९ औं एसियाली खेलकुदमा दुई बाउट जित्न सफल भएका थिए।

काभा महिला भलिबल च्यालेन्ज कपमा कांस्य विजेता निरुता केशवलाल स्मृति महिला भलिबल प्रतियोगिताकी सर्वोत्कृष्ट खेलाडी हुन्। शारीरिक सुगठनकी रजनी श्रेष्ठ भने नेपालमै सम्पन्न एसियन बडी बिल्डिङ च्याम्पियनसिपमा ५५ केजीमाथि तौलसमूहकी स्वर्ण पदक विजेता हुन्। शारीरिक सुगठन खेल पुरुष खेलाडीका लागि मात्र हो भन्ने मान्यतालाई चिर्दै रजनीले नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन सफल भएकी छन्। टेबल टेनिसकी सिक्का सुवाल श्रेष्ठ डबल्समा राष्ट्रिय च्याम्पियन र स्ट्याग ग्लोबल च्याम्पियन्स लिगकी विजेता हुन्।

यस विधाको विजेता इसेवा भोटिङ, मञ्चका सदस्यको मत, सामाजिक सन्जाल (एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको आधिकारिक फेसबुक पेज र पल्सर नेपालको आधिकारिक पेजबाट गर्नुपर्ने) बाट मत र २७ खेलका प्रमुख प्रशिक्षकको मतका आधारमा हुनेछ।

 इ–सेवाको मतभार ५० प्रतिशत, सामाजिक सन्जालको मतभार २५ प्रतिशत, नेपाल ओलम्पिक कमिटीमा आबद्ध २७ राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको मतभार १२.५ प्रतिशत र मञ्चका सदस्यको मतभार १२.५ प्रतिशत हुनेछ। भोटिङ कार्यक्रमको अघिल्लो दिन बन्द हुनेछ।

भोटिङ पार्टनरका रूपमा विद्युतीय भुक्तानीका लागि चर्चित सेवाप्रदायक कम्पनी इ–सेवासँग बुधबार नै एक कार्यक्रमबीच सम्झौता भएको छ। इ–सेवाका तर्फबाट चिफ बिजनेस अफिसर आशिष गौतम र मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले सम्झौता पत्रमा हस्ताक्षर गरे। सो अवसरमा गौतमले मनोनयनमा परेका पाँचै जनालाई इ–सेवा केयर प्याकेज प्रदान गरिने बताए। त्यसमा १ लाख रुपैयाँ बराबरको स्वास्थ्य प्याकेज रहेको छ। मञ्चले इ–सेवासँग लगातार चौथो वर्षको सहकार्य हो।

मञ्चका अध्यक्ष सुवेदीले इसेवालगायत अन्य प्रायोजकलाई धन्यवाद दिँदै अवार्डका अन्य चार विधा पनि केही दिनमा नै सार्वजनिक गरिने बताए। पल्सर स्पोर्ट्स अवार्ड २०७९ को अन्य विधामा वर्ष उत्कृष्ट पुरुष खेलाडी, वर्ष उत्कृष्ट महिला खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट युवा खेलाडी र पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड रहेका छन्। यस वर्ष पनि एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको मुख्य प्रायोजकको रूपमा हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालिको बजाज पल्सर मोटरसाइकल रहेको छ।

यस पटक वर्ष पुरुष, वर्ष महिला, वर्ष प्रशिक्षक, वर्ष युवा र पिपल्स च्वाइस अवार्ड विजेताले पाँच वटा बजाज पल्सर मोटरसाइकल पाउनेछन्। तीमध्ये दुई वटा एन २५० र तीन वटा एन १६० मोटरसाइकल छन्। अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँ र गिफ्ट ह्याम्पर प्रदान गरिनेछ। अन्य सह–प्रायोजक तथा सहयोगीमा ई–सेवा, सूर्य नेपाल प्राली, सुबिसु, प्लाजा गु्रप अफ होटल, रोयल सिंगी होटल, रुट्स फेसन, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल ओलम्पिक कमिटी छन्।

प्रकाशित: ३ माघ २०८० १४:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App