खेल

कान्छीमाया च्याम्पियन

काठमाडौं – सशस्त्र प्रहरी बल (एपिएफ) की कान्छीमाया कोजुले शनिबार पिंकाथन दोस्रो सस्ंकरणको उपाधि जितेकी छिन्। २१ किलोमिटर हाफ म्याराथनकी साबिक विजेता कान्छीमायाले १ घन्टा २० मिनेट २१ सेकेन्डमा दूरी पूरा गरेकी थिइन्।

गत संस्करणमा राष्ट्रिय कीर्तिमान बनाएकी कान्छीमायाले आफ्नो समयमा सुधार गर्न सकिनन्। तथापि उनको कीर्तिमान आधिकारिकताको विवादमा परेको थियो। गत वर्ष कान्छीमायाले १ घण्टा १८ मिनेट २८ सेकेन्डमा दौड पूरा गरेकी थिइन्। २००६ को बर्लिन म्याराथनमा निर्मला भारतीले १ घण्टा १८ मिनेट ४८ सेकेन्डको कीर्तिमान बनाएकी थिइन्।

त्रिभुवन आर्मी क्लबकी सरिता वासीले दोस्रो स्थान हात पारिन्। सरिताले १ घण्टा २५ मिनेट ०१ सेकेन्डमा दूरी पूरा गरेकी थिइन्। १ घण्टा २७ मिनेट ०२ सेकेन्डमा दूरी पूरा गर्ने नेपाल पुलिस क्लबकी पुष्पा भण्डारी तेस्रो भइन्। पुष्पा गत वर्ष पनि तेस्रो भएकी थिइन्। पहिलो स्थान हासिल गरेकी कान्छीमायाले ६० हजार रुपैयाँ नगद पुरस्कार जित्दा दोस्रो स्थानकी सरिताले ३० तथा तेस्रो स्थानकी पुष्पाले २० हजार रुपैयाँ नगद हात पारे।

महिला सशक्तीकरण तथा छातीको क्यान्सरबारे जनचेतना जगाउने उद्देश्यका साथ भएको पिंकाथनमा ४ विधामा प्रतिस्पर्धा भएको थियो। महिलाहरूको मात्र सहभागिता रहको पिंकाथनअन्तर्गत २१ किलोमिटरको हाफ म्याराथन, १० किलोमिटर, ५ किलोमिटर र ३ किलोमिटरमा प्रतिस्पर्धा गरेका थिए। तथापि ३ र ५ किलोमिटर प्रतिस्पर्धात्मक विधा होइन। २१ किलोमिटरको हाफ म्याराथन महाराजगन्जस्थित नेपाल प्रहरी तालिम केन्द्रबाट सुरु भएर बालुवाटार, गैह्रीधारा, नारायणहिटी दरबारको उत्तर ढोका, दरबारमार्ग, घण्टाघर, सहिद गेट, न्युरोड, जमल, लाजिम्पाट, पानी पोखरी हुँदै पुनः तालिम केन्द्रमा पुगेर टुंगिएको थियो।

तथापि प्रतिस्पर्धीले उक्त रुटलाई दुई फन्का लागाउनुपर्ने थियो। १० किलोमिटर दौडमा एपिएफकै सन्तोषी श्रेष्ठले बाजी मारिन्। सन्तोषीले ३८ मिनेट ४० सेकेन्डमा दौड पूरा गरेकी थिइन्। ३९ मिनेट ४२ सकेन्डमा दूरी पूरा गरेकी एपिएफकै वृन्द्रा श्रेष्ठ दोस्रो भइन्। त्रिभुवन आर्मी क्लबकी रेसु बस्नेत तेस्रो भइन्। गत वर्ष २१ किलोमिटरको हाफ म्यारथनमा दोस्रो भएकी रेसुले ४० मिनेट ४५ सेकेन्डमा दूरी पूरा गरेकी थिइन्। विजेता सन्तोषीले ३० हजार, उपविजेता वृन्द्राले २० तथा तेस्रो स्थानकी रेसुले १० हजार रुपैयाँ नगद पुरस्कार जितिन्।

५ किलोमिटर दौडमा दीपा न्यौपाने पहिलो, मनवती विष्ट दोस्रो र अर्पणा चौधरी तेस्रो भइन्। त्यस्तै तीन किलोमिटरको दौडमा चन्दना गुरुङ पहिलो, काजल विष्ट दोस्रो र दिलकुमारी छन्त्याल तेस्रो भए। पिंकाथन अभियानका मुख्य अभियन्ता भारतीय सुपरमोडल मिलिन्द सोमनले तेस्रो संकरण २०१९ फेब्रअरी २३ मा हुने भन्दै छिट्टै पोखरामा पनि पिंकाथन हुने जानकारी दिए।

 

 

प्रकाशित: १३ फाल्गुन २०७४ ०३:५६ आइतबार

कान्छीमाया च्याम्पियन