खेल

टाइगर कप :दुई पुलिस क्लब बीचको उद्घाटन भिडन्त

गण्डकी प्रदेशले महिला र पुरुष तर्फ तीन भारतीय खेलाडीलाई समावेश गर्दै चौथो संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लबसँग खेल्दै सुखद सुरुवात गर्ने लक्ष्यमा छ। 

यद्यपी उद्घाटन खेल भने दुई विभागीय क्लब बिच हुने छ। महिला र पुरुष दुवै टोलीमा दुई पुलिस क्लब बीचको विभागीय डर्बी प्रतिस्पर्धाबाट प्रतियोगिताको उद्घाटन हुने छ।

महिला तर्फ एपीएफले नेपाल पुलिससँगै खेल्दै भलिबलको रौनकता दिने छ। दोस्रो खेलको रुपमा त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशसँग प्रतिस्पर्धा गर्ने छ। सशस्त्र प्रहरीले नेपाल पुलिससँग पहिलो खेल खेल्दा दोस्रो खेल गण्डकीले त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्ने छ। प्रतियोगितामा पुरुषतर्फ ६ र महिला तर्फ ६ गरि कुल १२ टिमको सहभागिता रहेको छ। प्रतियोगिता लिग कम नकआउटको आधारमा हुने छ।

प्रतियोगिताको विजेता दुवै समूह महिला÷पुरुष तर्फका टिमहरूलाई  पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ प्रदान गरिने छ। द्वितीय पुरस्कार दुई लाख २५ हजार पाँच सय पचपन्न र तृतीय पुरस्कार एक लाख २५ हजार पाँच सय पचपन्न रहेको छ। सर्वोत्कृष्ट खेलाडीलाई नगद २५ हजार शिल्ड, मेडल र प्रमाण–पत्र प्रदान गरिने छ।

साथै विधागत तर्फ विजेता खेलाडीलाई आकर्षक जुत्ता उपहार प्रदान गर्ने आयोजकले जनाएको छ।  प्रत्येक म्याचमा टाइगर अफ दि म्याच हुन सफल खेलाडीलाई केल्मी नेपालको तर्फबाट एक थान सोभिनियर भलिबल प्रदान गरिनेछ। यस वर्ष प्रत्येक दिन टिकट काटी प्रवेश गर्ने दर्शक  मध्येबाट टिकटको अर्धकट्टीबाट भाग्यमानी दर्शकलाई एक थान टिसर्ट प्रदान गरिने छ। फाइनल खेलमा भाग्यमानी दर्शकलाई बम्पर उपहार स्वरूप वर्ल्ड भिजन महेन्द्रपुल तर्फबाट एक थान सामसुङ मोबाइल प्रदान गर्ने समेत आयोजकले जनाएको छ। 

प्रकाशित: २९ पुस २०८० १२:३९ आइतबार

त्रिभुवन आर्मी क्लब चौथो संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता दुई विभागीय क्लब एपीएफ